नवलपुरमा मात्रै भेटिए १५८ शव, पहिचान हुनै गाह्रो

हिमाल प्रेस १३ भदौ २०८३ ६:२९ | Saturday, August 29, 2026
नवलपुरमा मात्रै भेटिए १५८ शव, पहिचान हुनै गाह्रो चीनको दक्षिणपश्चिमी तिब्बत क्षेत्रमा अगस्ट २८, २०२६ मा अपराह्न करिब ४ः३० बजे पहिरो प्रभावित मुख्य क्षेत्रमा उद्धारकर्मीहरू पुगे। तस्बिर : सीसीटीभीको भिडियोबाट लिइएको स्क्रिनसट

काठमाडौँ- यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये आज साँझसम्म १५८ जनाको शव नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा फेला परेको छ। जिल्लामा आज मात्र थप ४८ वटा शव फेला परेको हो।

नवलपरासी हुँदै बग्ने नारायणी नदीको विभिन्न स्थानमा आज साँझसम्ममा १५८ वटा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका शवमध्ये १०९ वटा शव मात्र सिङ्गो फेला परेको छ।

जिल्लाका विभिन्न स्थानमा भेटिएका शवमध्ये ४९ वटा शवको शरीरका विभिन्न टुक्रा भेटिएको उनले जानकारी दिए।

जिल्लामा ३१ महिला, ५१ पुरुष, आठ बालक, ११ बलिकाको शव फेला परेको जनाउँदै सूचना अधिकारी पण्डितले बाँकी शवको ३० खुट्टा, ११ हात, तीन थाइ एवम् एक÷एक वटा कम्मरमाथिको भाग, टाउकाको भाग, पेटको भाग, शरीरको बायाँ भाग र छातीको भाग रहेको जानकारी दिए।

जिल्लामा सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा १०३, मध्यविन्दु नगरपालिकामा २२, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा १२–१२ वटा तथा देवचुली नगरपालिकामा नौ शव भेटिएको छ। नारायणी नदी किनारमा भेटिएक शव विभिन्न अस्पताल तथा वनको भवनमा व्यवस्थापन गरिएको छ।

नगर अस्पताल गैँडाकोटमा ४८, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ४६, नगर अस्पताल मध्यविन्दुमा ६ तथा अङ्कुर सामुदायिक वनको भवनमा पाँच वटा शवको व्यवस्थापन गरिएको छ।

त्यस्तै, गण्डकी अस्पताल पोखरामा ४१, लुम्बिनी मेडिकल कलेज प्रभाास पाल्पामा दुई, प्रदेश अस्पताल पाल्पामा चार तथा मिसन अस्पताल पाल्पामा दुई वटा शव पहिचान तथा व्यवस्थापनका लागि पठाइएको पण्डितले बताए। त्यस्तै बाँकी नौ वटा शव नदी किनारमै रहेको छ। उनले शवलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको बताए।

नवलपुरमा भेटिएको शवमध्ये एउटा शव पहिचान गरी आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।

अर्को एउटा शवको पहिचान गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आफन्तको जिम्मा लगाउन बाँकी छ।

प्रकाशित: १३ भदौ २०८३ ६:२९ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast