प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको बताएका छन्।
भोटेकोशी बाढीपछि जारी उद्धार एवं राहत कार्यका सम्बन्धमा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
उनले उद्धार र राहतका लागि छिमेकी तथा साझेदार राष्ट्रहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।
‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्,‘भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ।’
उद्धार हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको उनको भनाइ छ।
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिमको निरन्तर निगरानी भइरहेको बताउँदै उनले सम्भावित जोखिमका क्षेत्रमा पूर्वसूचना र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको जानकारी दिएका छन्।
जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको र दुई लाखभन्दा बढी एसएमएस अलर्टमार्फत पूर्वसूचना दिइको शाहले उल्लेख गरेका छन्।
राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले गृहमन्त्री स्वयं प्रभावित जिल्लामा स्थलगत रुपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बधित निकायसँग समन्वय गरी आवश्यक निर्देशन दिइरहेको जानकारी दिएका छन्।


