एमाले सरकारबाट बाहिरिए पनि गण्डकीमा पाण्डे सरकार सुरक्षित

हिमाल प्रेस ९ भदौ २०८३ ११:०७ | Tuesday, August 25, 2026
एमाले सरकारबाट बाहिरिए पनि गण्डकीमा पाण्डे सरकार सुरक्षित

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। मंगलबार बसेको एमाले संसदीय बोर्ड बैठकले सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउनुअघि नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेपछि संसदीय बोर्डले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको एमाले स्रोतले जनाएको छ।

कांग्रेस नेतृत्वको सरकारमा एमालेबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे सहभागी छन्।

गण्डकी प्रदेशमा हाल मुख्यमन्त्रीसहित ९ सदस्यीय मन्त्रिपरिषद् रहेको छ। मुख्यमन्त्री पाण्डेले गत २ वैशाखमा कांग्रेस र एमालेका सबै मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

६० सदस्यीय प्रदेश सभामा मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने मुद्दामा दोषी ठहर भई कारागार चलान भएपछि हाल प्रदेश सभामा ५९ सदस्य कायम छन्।

प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, नेकपाका ७ (सभामुखसहित), राप्रपाका २ र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का १ सांसद छन्। बहुमतका लागि ३० मत आवश्यक पर्छ।

एमाले सरकारबाट बाहिरिए पनि राप्रपाका दुई सांसद र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाको समर्थन रहे कांग्रेस नेतृत्वको सरकारसँग ३० मत पुग्ने भएकाले तत्काल सरकारको बहुमतमा असर नपर्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast