शिक्षकको पेसागत विकास र सुरक्षा चुनौतीको विषय : सांसद शेरचन

हिमाल प्रेस ८ भदौ २०८३ १६:४५ | Monday, August 24, 2026
शिक्षकको पेसागत विकास र सुरक्षा चुनौतीको विषय : सांसद शेरचन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले संघीय विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा शिक्षा तथा खेलकुद मन्त्रालयले देखाएको सक्रियताको प्रशंसा गर्दै अझै केही महत्त्वपूर्ण विषय स्पष्ट र व्यवहारिक रूपमा सम्बोधन हुन बाँकी रहेको बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षा संवादमार्फत देशभरबाट सुझाव संकलन गर्ने मन्त्रालयको प्रयास सकारात्मक भएको बताएकी हुन्।

संसद् बैठकमा डा.शेरचनले भनिन्,‘नयाँ संघीय विद्यालय शिक्षा विधेयक निर्माणका लागि शिक्षा मन्त्रालयले देखाएको सक्रियता र शिक्षा संवादमार्फत देशभरबाट सुझाव संकलन गर्ने प्रयास प्रशंसनीय छ। शिक्षा जस्तो दूरगामी प्रभाव पार्ने विषयमा सरोकारवालाको आवाज सुनेर अघि बढ्ने सकारात्मक कदम हो।’

विधेयक प्रभावकारी बनाउन केही आधारभूत विषय अझै स्पष्ट हुनुपर्ने उनको भनाइ छ। उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, स्रोत र जिम्मेवारीको उचित बाँडफाँट, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) तथा विद्यालय कर्मचारीको सम्मानजनक पारिश्रमिक, शिक्षकहरूको पेसागत विकास र सुरक्षाजस्ता विषय अझै चुनौतीका रूपमा रहेका छन्।

डा.शेरचनले यी विषयलाई अलग अलग रूपमा नभई समग्र शिक्षा प्रणालीको सुधारसँग जोडेर सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।उनले भनिन्,‘यी विषयलाई टुक्रा टुक्रामा होइन समग्र शिक्षा प्रणालीलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ। सरोकारवालाबीच देखिएको मतभिन्नतालाई समेट्दै स्पष्ट, कार्यान्वयनयोग्य र दीर्घकालीन विद्यालय शिक्षा ऐन निर्माण गर्नु आजको आवश्यकता हो।’

उनले मन्त्रालयले सुरुवात गरेको सकारात्मक पहललाई निष्कर्षमा पुर्‍याउन सबै पक्षको सहमति समेट्ने गरी व्यवहारिक र दीर्घकालीन कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast