काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री कार्यालयले शुक्रबार नै यसबारे कोशी प्रदेश सभा सचिवालयलाई औपचारिक जानकारी गराएको छ।
नयाँ सत्ता समीकरण अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए। यसअघि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म विश्वासको मत नलिने अडानमा रहेका कार्कीले, १७ जना सांसदसहित नेपाली कम्युनिस्ट पार्टी सरकारमा सहभागी भएसँगै विश्वासको मत लिने तयारी गरेका हुन्।
कोशी प्रदेश सभाको नवौँ अधिवेशनको २६ औँ बैठकको कार्यसूची अनुसार सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ। नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
हाल ९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी कुल ५७ जना प्रदेशसभा सदस्यको स्पष्ट समर्थन कार्कीको पक्षमा छन्। कोशी प्रदेश सभामा कांग्रेस २९, राप्रपा सभामुखसहित ५ र जसपाको १ सांसद छन्।


