सरकारमा सहभागी हुन उपेन्द्र र माधव सकारात्मक

हिमाल प्रेस २५ माघ २०७९ ९:३९
26
SHARES
सरकारमा सहभागी हुन उपेन्द्र र माधव सकारात्मक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै सत्ता बाहिरका दललाई भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागेका छन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई फकाएर सरकारमा ल्याउने प्रचण्डको प्रयत्न छ।

यसै सन्दर्भमा मंगलबार (हिजो) साँझ प्रधानमन्त्री निवासमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षलाई भेटेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव मंगलबार साँझ ७ बजे बालुवाटार पुगेका थिए।

भेटमा दुवै अध्यक्षले सरकारमा आउन सकरात्मक रहेको बताएका थिए। प्रचण्डसँग नेपालले तीन मन्त्रालयको प्रस्ताव गरेका थिए। यता जसपाले भने दुई मन्त्रालय र उपराष्ट्रपतिको पुरानै प्रस्ताव राखेका थिए। प्रचण्ड दुवै नेताको प्रस्तावमा सहमत भएको एकीकृत समाजवादीका एक नेताले बताए।

प्रधानमन्त्रीसँग अहिले गृहमन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय रास्वपाले छाडेपछि खाली छन्। योसँगै युवा तथा खेलकुद मन्त्रालय र वन मन्त्रालय पनि प्रचण्डले आफैसँग राखेका छन्। प्रचण्डले रोजेकै मन्त्रालय दिएर सरकारमा भित्र्याउने प्रयत्न गरेको बताइन्छ।

‘अध्यक्षज्यु(माधव नेपाल)सँग भेट भएको सही हो,’ समाजवादीका एक नेताले भने,‘कुन–कुन मन्त्रालय लिने सहमति भएको छैन। अध्यक्षज्युले पनि पार्टीभित्र छलफल गर्ने भन्नुभएको छ।’ यता जसपा भने उपराष्ट्रपति दिए मात्र सरकारमा जाने अडानमा छ। उपराष्ट्रपतिमा आफ्नो कुनै सांसदलाई पठाएर आफू उपनिर्वाचन लड्ने दाउमा अध्यक्ष यादव छन्। यसबारे पनि प्रचण्ड सकरात्मक रहेको जसपाको दाबी छ। प्रधानमन्त्रीले संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

यता, माओवादी निकट स्रोतका अनुसार रास्वपाले समर्थन फिर्ता लिएमा गठबन्धन कमजोर हुने भएकाले नयाँ दल भित्र्याउन प्रचण्ड लागेका हुन्। रास्वपाले मन्त्री फिर्ता लगे पनि समर्थन यथावत् राखेको छ।

एकीकृत समाजवादीको भने तत्काल सरकारमा जानुपर्ने पार्टी नेताको दबाब छ। पार्टी फुट्ने भयले पनि तत्काल सहभागी हुनुपर्ने दबाब आएको हो। तर अध्यक्ष नेपालले अनिर्णित बनेका छन्। नेपालले एमाले गठबन्धन रहँदा सम्म सरकारमा सहभागी नहुने बताउने गरेका छन्। तर मंगलबारको भेटमा भने यथास्थितिमै पनि सरकारमा सहभागी हुन सक्ने नेपालले बताएका थिए।

 

प्रकाशित: २५ माघ २०७९ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =