नियात्रा

बुकाचो गढीबाट उत्तर फर्किँदा

राजाराम बर्तौला ६ भदौ २०८३ ९:३२ | Saturday, August 22, 2026
बुकाचो गढीबाट उत्तर फर्किँदा

पुग्छु भनेर हिँडेको ठाउँमा पुगेपछि यात्री अल्मलियो भने अन्यत्र पुग्दछ। बाटोले गन्तव्य तोक्दछ भने यात्रीले यात्राको लक्ष्य। साना-मसिना बाटाहरू मूलबाटोमा गएर मिसिनुपूर्व यात्राको गन्तव्य मोडिन सक्छ। त्यसैले पुग्छु भनेर गएको ठाउँ कहिलेकाहीँ फरक पर्छ। यात्रालाई यस्तै फरक पर्ने साना तर महत्त्वपूर्ण गोरेटाहरूले रोमाञ्चकता प्रदान गर्दछ। हामीहरू बाटै भुलेको त हैन तर साँगाको महादेवको मूर्ति भएको ठाउँमा नगई दक्षिणतर्फको उकालो लाग्न थाल्यौँ। महादेवलाई दक्षिण पाखोबाट दर्शन गर्ने भनेर। महादेवको मूर्ति यति विशाल छ कि निकै परबाट पनि दर्शन गर्न सकिन्छ।

२०८३ साउन महिनाको चौथो शनिबार, योगगुरु रामदेवीको नेतृत्वमा पदयात्रामा निस्केको टोलीले साउन महिनाका महादेवको दर्शन गर्ने अभिप्राय लिएको थियो। यात्राको पदमार्ग तय गरिएको थियो साँखु भन्ज्याङको महादेव दर्शन गरेर आशापुरेश्वर र त्यसपछि डोलेश्वरको दर्शन गरेर फर्कने।

धर्म पनि हुने र कर्मको पनि साध्य हुने एक पन्थ दुई काजको पदयात्रा थियो। साँखु भन्ज्याङबाट दक्षिण पाखोको पदयात्रा गर्नुको मिश्रित आनन्द आउने गर्दछ। यहाँबाट काठमाडौँ उपत्यका र यस वरिपरिका पर्वत शृंखलाको अद्भुत दृश्यपान गर्न पाइन्छ नै, पूर्वपट्टिको बनेपा र धुलिखेलको सुन्दर बस्ती र प्राकृतिक सुन्दरताको अवलोकन गर्न पनि पाइन्छ।

यो भन्ज्याङमा उभिएर उपत्यकाको नगर विकास र यसको ऐतिहासिक पदचापसमेत महसुस गर्न सकिन्छ। काठमाडौँको चार भन्ज्याङमध्येको एउटा महत्त्वपूर्ण यातायातको कडी, जसले ऐतिहासिककालदेखि काठमाडौँलाई तिब्बत र महाचीनलाई जोड्ने काम गरिरह्यो। अहिले त झन् तिब्बत मात्र किन, नेपालको पूर्वोत्तर जिल्लाहरू र मधेशलाई समेत जोड्ने काम गरेको छ। यही भन्ज्याङ भएर कैयौँ धर्मगुरु, राज्यका प्रतिनिधि, योद्धा सिपाही, व्यापारीहरू र सर्वसाधारणहरूले तिब्बतलाई उपत्यकासँगको साइनो जोडे र जोडिरहेका छन्। यही भन्ज्याङ काटेर भृकुटी तिब्बत गएकी थिइन्। यही भन्ज्याङ काटेर बलबाहु कलाकारहरूको दलबलसहित तिब्बत गएका थिए।

आज हामीहरू ६० जना पैदलयात्री भने यही भन्ज्याङ काटेर दक्षिणको उकालो लागेर पदयात्रामा रमाइरहेका थियौँ। उकालो थुम्कोमा पुगेर महादेवको विशाल आकृतितर्फ फर्केर हेर्दै सहयात्री मित्रले मनोकामनापूर्तिको वर मागे। सँगैका अर्का सहयात्रीले भने, ‘मानिसको मन र त्यसभित्रको आकांक्षा अर्थात् इच्छाका पत्रहरू अनन्त हुन्छन्। भगवान्‌ले तपाईंको कुनचाहिँ मनोकामना पूर्ण गर्ने हुन्। भगवान्‌लाई कन्फ्युज गराउने काम नगरौँ न है मित्र।’

झनै रोचक त संवादमा अर्का मित्र थपिए र भने, ‘मानिसले मृत्युपश्चात् पनि स्वर्गको कामना गर्दछ। यहाँ नरकको कामना कसैले गर्दैन। सक्ने भए उसले स्वर्गमा आफूलाई चाहिने यावत् भौतिक सामग्री साथै लिएर जान पाऊँ भगवान् भनेर वरदान माग्दा हुन्।’

वार्तामा अर्की एकजना बालमनोवेत्ता शिक्षिका सहभागी भइन् र सोधिन्, ‘गाईको गहुँत पवित्र किन हुन्छ र? गोबर पनि पवित्र हुन्छ रे।’ प्रश्नले नै मनोवृत्ति व्यक्त गरिरहेको हुँदा लामो जवाफ दिन आवश्यक थिएन। एकजना अर्का मित्र अगाडि सरेर जवाफ दिन उद्यत हुँदै थिए। म आफू भने फटाफट अगाडि बढेँ। यात्रामा यस्तै हो, अनेक विचार, भाव, व्यवहार र व्यक्तित्व भएका अनुहारहरू ठोक्किन आइपुग्दछन्। कोही आँखामा बिझाउँछन्। कोही दिलैमा बस्दछन्। कोही साउनको फूलजस्तो ओइलाएर हराउँछन्।

कुरा गर्दै हिँड्दा खाल्चोक आइपुगेछौँ। साँगा भन्ज्याङबाट खेत हुँदै ठाडो जंगलको बाटो हिँडेर आए पनि हुने थियो। तर हामी फराकिलो कच्ची सडकै सडक भएर हिँड्यौँ। खाल्चोक तामाङहरूको बस्ती हो। यहाँबाट उत्तरका हिमाल र बनेपा सहरको सुन्दर दृश्य देखिन्छ।

हामीले कच्ची गोरेटो बाटो समात्यौँ र केही उकालो लाग्यौँ। हामी युवकयुवतीको प्रिय डाँडो ‘लभ डाँडो’ जाँदै थियौँ। यो ठाउँ एकान्त चाहने र प्रेममा परेकाहरूलाई प्रेमको गहिराइमा डुब्न र समयसँग भुल्न प्राकृतिक रूपमै उत्तम ठाउँ रहेछ। त्यही पुगेपछि अनुभूति गर्‍यौँ। यहाँ आइपुग्न त्यति कठिन पनि छैन। केही तलसम्म बाइकमा आयो र दिनभर हरियो चौरमा, धुपीको छहारीमा बसेर प्रेमालापमा भुले भयो। एकछिन प्रेमिल जोडीहरूको लभ डाँडोमा बिताउने समय र उनीहरूको अनुभूतिलाई आत्मसात् गर्न खोज्दै त्यहाँको प्राकृतिक रम्यतामा रमायौँ।

यहाँबाटअगाडिको बाटो देखाउन हामीमाझ आउनुभयो जागृत आधारभूत विद्यालयका शिक्षक बालकुमार तामाङ। उहाँले हामीहरूलाई लभडाँडोको दक्षिणमा पर्ने चतुरेडाँडा हुँदै आशापुरी जाने बाटोसम्म डोर्‍याउनुभयो। ‘एघार कोठाको घर छ, त्यसमा बस्ने हामी दुई बुढाबुढी मात्रै छौँ। छोरो र छोरी अस्ट्रेलिया र जापानमा छन्। अब मास्टरको जागिर पनि छोडेर घरमै बस्ने हो,’ भन्दै थिए। ‘नेपालको घरघरको कहानी यस्तै छ। यहाँ कोही कसैको छैन। आफ्नो व्यवस्था आफैँले मिलाउनुपर्दछ। त्यसैले ज्यानमा बल छँदा पहाडका गोरेटो र धर्काहरू हिँड्नपर्दछ। अब म पनि तपाईंहरूजस्तै हिँड्छु।’

हिँड्दै गर्दा विशाल गुम्बा निर्माणको काम सुरु हुन लागेको छ भनेर उनै शिक्षकले भन्नुभयो। गुम्बाकै लागि भनेर बाटो फराकिलो बनाएर लगेको पनि देखियो। शान्तिका बिगुल पहाडका थुम्का-थुम्काबाट उठून्। तर देख्दै छु विश्वमा अशान्तिको बादल मडारिएको। बारुदको गन्ध हावामा मिसिएर हिमालको शिरसम्म पुगेको। शान्तिको शङ्खनाद यसैबाट हुनुपर्ने, बुद्धको देशबाट। तर, हामी आफैँ लड्दै छौँ पन्थ र पथको विषयलाई लिएर। खै के भन्ने।

कुरा गर्दै हिँड्दा बाटोमा घँगारुको बोटमा लटरम्म परेका राता दाना देखिए। सहयात्री कसैले ‘यो आयुर्वेदिक गुण भएको फल हो’ भने। यत्ति सुन्नु के थियो, सबैले बोटलाई केरकार गरे। लुछलाछ गरे भन्दा पनि भयो। हामी कति स्वार्थी छौँ भने आफूलाई लाभ हुने भयो भने अरूको हानिको वास्तै गर्दैनौँ। घँगारुले हामी पदयात्रीलाई उपकार नै गर्‍यो।

स्वाद न ब्यादको घँगारु खाएर लखरलखर हामी आशापुरेश्वर पुग्यौँ। आशापुरेश्वर दुई नदीको दोभानमा छ। पश्चिम भाग चाँगुनारायणमा पर्दछ भने पूर्वी भाग भने काभ्रेमा पर्दछ। हामीहरू करिब एक बजे पुग्दा पनि भक्तजनको ओइरो थामिनसक्नु थियो। आशापुरेश्वरको दर्शन गरेर सडकै सडक करिब पाँच किलोमिटर हिँडेर पाटीभन्ज्याङसम्म आयौँ। यात्राको प्रारम्भिक योजनामा डोलेश्वर महादेवको दर्शन गर्न जाने थियो। पाटीभन्ज्याङ आएपछि त्यहाँबाट उकालो चढेर बुकाचो जाने भयौँ।

ऐतिहासिक गढीहरूको ठाउँ

बुकाचो सम्भवतः नेवारी नाम हुनुपर्दछ। फुलच्च, जामाच्च भनेजस्तो बुकाच्च पनि हुन सक्दछ। यो डाँडोको शिरमा देवीको मन्दिरसमेत भएको हुँदा सम्भवतः यसको प्राचीन नाम बुकाच्च हुनुपर्दछ भन्ने लाग्दछ। बोकाचोबाट बुकाचो भएको भन्नेहरू पनि छन्। बोकाहरू चर्ने चरन भएर भनिएको हो भने पनि खासमा यो नेवारी भाषाकै रूप हो भन्नेमा शङ्का छैन। जे भए पनि अहिलेको चल्ती नाम बुकाचो हो। यो भक्तपुरबाट दक्षिणमा पर्दछ।

आशापुरेश्वरबाट पश्चिम र डोलेश्वरको डोलबाट पूर्व पहाडको शिर। यसको उचाइ २१०० मिटर छ। हामीहरू पुग्दा बादलले छपक्क ढाकेको थियो। यहाँबाट उत्तरका हिमशृङ्खलामा पर्ने गणेश, लाङटाङ, दोर्जेलाक्पा र काचो भएको पनि हुन सक्दछ। गौरीशंकर हिमालहरू पूरै देखिन्छ। भक्तपुरका खेतहरूमा देखिने हरिया, पहेँला बाली झुलेका फाँटहरू र नगरकोटको तरेली परेको भिराला बस्तीहरूको रमाइलो दृश्य देखिन्छ। पहाडका तरेलीहरू जीवनमा तरेलीजस्तै हुन्—कतै उठेका, कतै उबडखाबड, र कतै तन्केका। यी तरेलीभित्र आफैँलाई समाहित गर्नु भनेको जीवनको अनुभूति गर्नु हो।

प्राकृतिक सुन्दरताभन्दा पनि यो ठाउँको विशेष महत्त्व चाहिँ नेपाल एकीकरणसँगको यसको साइनो हो। भक्तपुर बडामहाराजाधिराज पृथ्वीनारायण शाहको मितबाको राज्य हो। त्यही राज्यलाई गोरखा सरहदमा मिसाएर विशाल नेपाल एकीकरण गर्ने पृथ्वीनारायणको उद्देश्यबमोजिम कीर्तिपुर, ललितपुर र कान्तिपुर राज्यहरू जितिसकेपछि अन्तिममा भक्तपुरमाथि आक्रमण गरेका हुन्। मल्ल राजाहरूको मूल खम्बा थियो भक्तपुर। यहीँबाट टुक्रिएर बनेको थियो ललितपुर र कान्तिपुर। भक्तपुरको पराजयपछि उपत्यकाबाट मल्ल शासनको अन्त्य भयो।

भक्तपुर वरिपरिका रणनीतिक महत्त्व बोकेका डाँडाहरूमा आफ्ना सिपाहीहरू तैनाथ गरेर गढीहरू स्थापना गर्दै भक्तपुरमाथि लामो समयदेखि गोरखाली सेनाले निगरानी राख्दै आएको थियो। अरू गढीहरूभन्दा बुकाचो गढीबाट भक्तपुरमा भएको चहलपहलको राम्रो निगरानी हुने भएको हुँदा यो गढीको विशेष महत्त्व थियो। यो गढी डोलेश्वरबाट पूर्वको बाटो उकालो लागेपछि बोकाचो गढी पुगिन्छ भने डोलेश्वरबाट दक्षिण पाखो उकालो लागेपछि घ्याम्पे डाँडा हुँदै रानीकोट गढी पनि पुगिन्छ। यी दुईटा महत्त्वपूर्ण गढीहरू केही किलोमिटरको फरकमा अवस्थित छन्। रानीकोट गढी चाहिँ पनौतीअन्तर्गत पर्ने भए पनि स्थानसापेक्षताको हिसाबले यो भक्तपुर हमलाका लागि नै स्थापित गरिएको गढी थियो।

धार्मिक तथा ऐतिहासिक पदयात्राका लागि यो ठाउँ धेरै नै महत्त्वपूर्ण छ। डोलेश्वरलाई केदारनाथको शिर भनिन्छ र यो प्राचीन मन्दिरको दर्शनलाई पावन मानिन्छ। त्यसैगरी आशापुरेश्वर, जहाँ मनले चिताएको वर प्राप्त हुन्छ भन्ने विश्वासले असंख्य भक्तजनहरू दर्शन गर्न पुग्दछन्। दुईटा मन्दिर र दुईटा गढीहरूसमेत गरी चारैवटा ठाउँहरू एकै दिनमा घुमेर सकिन्छ। सवारी साधनमा जाँदा पनि सहजै पुगिने यी ठाउँहरू पदयात्राको आनन्दले भेट्टाउन सकिँदैन।

बुकाचोमा एउटा भ्यूटावर पनि निर्माण गरिएको छ। ऐतिहासिक गढीका अवशेषहरू हेर्दै, देवीको दर्शन गरेर टावर चढेर उपत्यकाको प्राकृतिक मनोरम दृश्यपान गर्दा मन विभोर हुन्छ। शनिवारे पदयात्रा शिवधामहरूको दर्शन र ऐतिहासिक गढीको दर्शन गरेर पूरा भयो।

प्रकाशित: ६ भदौ २०८३ ९:३२ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast