भोजपुर- भोजपुरमा यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा धानखेतीका लागि उपयुक्त १२ हजार ५० दशमलव ८१ हेक्टरमध्ये ११ हजार ५६८ दशमलव ७८ हेक्टरमा रोपाइँ सकिएको हो।
मनसुनका कारण पर्याप्त वर्षा भएपछि जिल्लाका अधिकांश क्षेत्रमा समयमै रोपाइँ भएको केन्द्रले जनाएको छ। भोजपुरका नौवटै स्थानीय तहका तल्लो भेगमा मुख्य रूपमा धानखेती हुने गरेको छ।
जिल्लामा धान प्रमुख खाद्यबाली भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ।
अधिकांश क्षेत्रमा मङ्सिरे धान लगाइने भए पनि बेँसी तथा फाँट क्षेत्रमा किसानले वर्षमा दुई बालीसम्म धान उत्पादन गर्ने गरेका छन्।
केन्द्रका अनुसार समयमै रोपाइँ भएकाले यस वर्ष धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


