मुस्ताङ अस्पतालमा जीर्ण एम्बुलेन्स

हिमाल प्रेस ३१ साउन २०८३ १२:२७ | Sunday, August 16, 2026
18
SHARES
मुस्ताङ अस्पतालमा जीर्ण एम्बुलेन्स

मुस्ताङ- मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो छ। यो जीर्ण हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार एम्बुलेन्स पटकपटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ। ‘अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको छ’, उनले भनिन्।

प्राकृतिक विपद्, दुर्घटना तथा अन्य कारणले गम्भीर बिरामीलाई पोखरा तथा अन्य सुगम स्थानका अस्पतालमा रिफर गर्नुपर्दा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या जटिल हुने गरेको उनले बताइन्। नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटकपटक माग गरिए पनि हालसम्म प्राप्त नभएको उनले दुखेसो गरिन्।

अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किएपछि बिरामीलाई समस्या थपिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको स्वीकार गरे।

मुस्ताङका पाँच स्थानीय तहमध्ये चार वटामा आठ वटा एम्बुलेन्स भए पनि आधा मात्र सञ्चालनमा छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स छैन ।

उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका रहेका एम्बुलेन्स भने सुचारु रुपले चलेका छन्।

प्रकाशित: ३१ साउन २०८३ १२:२७ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast