काठमाडौँ- सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ नामक ग्रन्थ लोकार्पण गरिएको छ। संस्कृत व्याकरण, पाणिनीय परम्परा तथा भाषाविज्ञानका विविध पक्षलाई समेटिएको उक्त ग्रन्थ संस्कृत व्याकरण तथा भाषाविज्ञानको अध्ययनअध्यापन र अनुसन्धानका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयको व्याकरण विषय समितिको आयोजनामा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सन्त समाज, नेपालका अध्यक्ष तथा देवघाटधामस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले ग्रन्थको लोकार्पण गरेका हुन्।
‘शब्दशास्त्रविज्ञानम्’मा पाणिनीय शिक्षादेखि व्याकरणशास्त्रको ऐतिहासिक विकास, संस्कृत भाषाको वैज्ञानिक अध्ययन तथा भाषाहरूबीचको तुलनात्मक अध्ययनलगायतका विषय समेटिएका छन्। नेपाल संस्कृत विश्वविद्यालयले परिमार्जन गरेको पाठ्यक्रमलाई आधार बनाएर तयार पारिएको भएकाले विश्वविद्यालय तहमा संस्कृत व्याकरण तथा भाषाविज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि कृति उपयोगी हुने अपेक्षा गरिएको छ।
ग्रन्थको समीक्षाका क्रममा सहप्रा. डा. केशवशरण अर्याल र प्रा.डा. जीवन अधिकारीले कृतिको विषयवस्तु, संरचना, उपयोगिता तथा शास्त्रीय पक्षबारे समीक्षात्मक मन्तव्य राखेका थिए।
कार्यक्रममा भाषाविद् तथा व्याकरणविद् प्रा.डा. माधवप्रसाद पोख्रेलले शुभकामना मन्तव्य दिँदै संस्कृत व्याकरण र भाषाविज्ञानका विषयलाई समसामयिक अध्ययनको दृष्टिकोणसँग जोडेर प्रस्तुत गर्ने यस्ता कृतिले संस्कृत अध्ययनलाई थप अनुसन्धानमुखी बनाउन सहयोग पुग्ने बताए।
स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले आशीर्वचन दिँदै संस्कृत भाषा, व्याकरण र शास्त्रीय ज्ञानको संरक्षण तथा सम्वर्द्धनमा अनुसन्धानमूलक कृतिको महत्त्वपूर्ण भूमिका रहने बताए।

ग्रन्थकार सहप्रा. डा. प्रकाश तिवारीले ग्रन्थ प्रकाशनमा सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालय, व्याकरण विषय समिति, विद्वान्, समीक्षक, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमको समापन सभाध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले गरेका थिए। संस्कृत व्याकरण, पाणिनीय परम्परा र भाषाविज्ञानका विषयलाई एउटै कृतिमा समेटिएको ‘शब्दशास्त्रविज्ञानम्’ले संस्कृत अध्ययनअध्यापन तथा अनुसन्धानका क्षेत्रमा नयाँ सन्दर्भ सामग्रीका रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सभापतित्व नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत व्याकरण विषय समितिका अध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले गरेका थिए। कार्यक्रममा भाषाविज्ञान तथा व्याकरण क्षेत्रका विद्वान् प्रा.डा. माधवप्रसाद पोख्रेल, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछाने, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईलगायतको उपस्थिति थियो।


