काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो।
देवकुमार घर्तीले चलाएको उक्त जिपमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा सवार सबै १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
घाइतेहरूको नाम, थर र ठेगाना खुल्न बाँकी छ। सबै घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ साउन २०८३ १०:०४ | Monday, August 10, 2026
प्रतिक्रिया


