चितवन- चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो।
करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको हो।
अहिले भएको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ।
पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार आठ मेघावाटको हुँदा समयसमयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बताए। उनका अनुसार पुरानो ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको हो।
समयसमयमा विद्युत् प्रवाहमा समस्या आउने र समस्या पहिचान गर्न लामो समय लाग्ने हुँदा नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको उनले जानकारी दिए।
ठेक्का सम्झौतासँगै ठेकेदार कम्पनीले भूमिगत विद्युतीकरणका लागि नक्साङ्कनको काम सम्पन्न गरेर २५ मेघावाटको विद्युत् प्रवाह गर्न सक्ने तारको खरिद प्रक्रियामा रहेको कार्यालयका प्रमुख झाले उल्लेख गरे। वर्षात सकिएसँगै कामले तीव्रता पाउने उनले बताए।
माडीमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत् प्रवाह गर्दै आएको छ। जहाँ ११ हजार ७०० ग्राहक रहेको वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टले जानकारी दिए। उनका अनुसार घरायासी एवं सिँचाइको प्रयोजनका लागि ती ग्राहक रहेका छन्।
जिल्लाका माडी नगरपालिलाई चारैतिर जंगलले घेरेको छ। धेरैजसो भागमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ। माडीवासी सदरमुकाम भरतपुर आउजाउ गर्न निकुञ्जकै बाटो प्रयोग गर्नुपर्दछ। गत वैशाख ७ गते नौ महिनाभित्र काम सम्पन्न गर्ते गरी ठेक्का सम्झौता पछि काम अघि बढेको हो।


