गोरखामा पेट्रोल पम्पमाथि खस्यो पहिरो, डिस्पेन्सर मेसिन र ५ मोटरसाइकल पुरिए

हिमाल प्रेस २१ साउन २०८३ १२:२५ | Thursday, August 6, 2026
8
SHARES
गोरखामा पेट्रोल पम्पमाथि खस्यो पहिरो, डिस्पेन्सर मेसिन र ५ मोटरसाइकल पुरिए प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखाकाली फ्युल सेन्टर पेट्रोलपम्पमाथिबाट आएको पहिरोले डिस्पेन्सर मेसिन र पार्किङमा राखिएका पाँचवटा मोटरसाइकल पुरिएका छन् ।

बिहीबार बिहान ७ बजे पेट्रोलपम्पभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले पेट्रोलपम्पको संरचना तथा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्थापन, उद्धार तथा पहिरो पन्छाउने काममा जुटेको उनले जानकारी दिए। ‘पेट्रोलपम्पको अवस्था बुझ्ने र पुरिएका मोटरसाइकल सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको छ,’ उनले भने। पहिरोबाट कुनै मानवीय तथा पशुचौपायाको क्षति नभएकाले ठुलो दुर्घटना टरेको प्रहरीले जनाएको छ। पहिरोका कारण पेट्रोलपम्पको सेवा अवरुद्ध हुनुका साथै आसपासको आवतजावतमा समेत असर परेको छ । थप जोखिम हुन नदिन आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

अचानक आएको पहिरोले पेट्रोलपम्पमा लाखौँ रुपियाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण प्राविधिक मूल्यांकनपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।

प्रकाशित: २१ साउन २०८३ १२:२५ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast