अझै फेला परेन सुनकोशीमा झरेको कार, ३ यात्रु पनि बेपत्ता

हिमाल प्रेस २० साउन २०८३ ८:५५ | Wednesday, August 5, 2026
8
SHARES
अझै फेला परेन सुनकोशीमा झरेको कार, ३ यात्रु पनि बेपत्ता फाइल तस्बिर

काठमाडौँ-​ मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको सवारी दुर्घटनामा परी सुनकोशी नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्य जारी रहेको छ। घटनाको विरोधमा बेपत्ता व्यक्तिका परिवार, आफन्त र स्थानीयवासीले तेस्रो दिन बुधबार पनि उक्त राजमार्ग अवरुद्ध गरेका छन्।

उनीहरूले बुधबार बिहानदेखि नै मध्यपहाडी लोकमार्गको ६३ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–१ र फिक्कल गाउँपालिका–२ को सिमानामा रहेको वाक्सुखोला पुलमा चक्काजाम गरी यातायात अवरुद्ध गरेका हुन्। घटना भएको तीन दिन बितिसक्दा पनि बस धनी र बस सञ्चालन गर्ने समितिले समस्याप्रति बेवास्ता गरेको पीडित पक्षको आरोप छ।

दोषीलाई कडा कारबाही, बेपत्ताको खोजी र उचित क्षतिपूर्तिको माग गर्दै पीडित पक्षले लोकमार्गमा यातायात बन्द गराएको गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए।

उनले भने, ‘सोमबार दिउँसो घटना भएपछि तीन दिनदेखि उक्त राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन। आज पनि आन्दोलनकारी बिहानैदेखि सडकमा जम्मा भएर यातायात सञ्चालन बन्द गराएका छन्।’

बेपत्ता व्यक्तिको शीघ्र खोजी, पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै खुर्कोट–घुर्मी खण्डमा यातायात अवरुद्ध गरिएको उनले बताए। तीन दिनदेखि सडक अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, उदयपुरलगायतका जिल्लाबाट राजधानी काठमाडौँ आवतजावत गर्ने सवारीसाधन बाटोमै अलपत्र परेको स्थानीयले बताएका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विष्णु पौडेलले खुर्कोट–घुर्मी खण्डमा अवरुद्ध यातायात खुलाउने प्रयास भइरहेको बताए। उनले छलफलका लागि बोलाइएका सम्बन्धित बसधनी र बस सञ्चालन गर्ने समितिका प्रतिनिधि मंगलबार बिहानसम्म सम्पर्कमा रहेको भए पनि हाल सम्पर्कविहीन भएको जानकारी दिए।

नवलपुरस्थित सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीन जना यात्रु र कारको बुधबार बिहानदेखि नै खोजी कार्य भइरहेको उनले बताए। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले घटनास्थल सुनकोशी नदी तथा नदी किनारमा बेपत्ता व्यक्ति र कारको खोजी गरिरहेका छन्। बेपत्ताको खोजीमा सोमबार दिउँसोदेखि ड्रोन र म्याग्नेटको समेत प्रयोग गरिए पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

सोमबार दिउँसो ११ः४५ बजे काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा।प्र। ०८–००१ ख ०१४४ नम्बरको बसले सडक छेउमा रोकिराखेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

कारसहित सुनकोशी नदीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर बेपत्ता भएका छन्। प्रहरीका अनुसार बस र बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ।

प्रकाशित: २० साउन २०८३ ८:५५ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast