एक घण्टाभित्रमा भुस्याहा कुकुरले टोक्यो ४१ जनावर र एक बालिकालाई

हिमाल प्रेस १९ साउन २०८३ ९:१० | Tuesday, August 4, 2026
4
SHARES
एक घण्टाभित्रमा भुस्याहा कुकुरले टोक्यो ४१ जनावर र एक बालिकालाई फाइल तस्बिर

फिदिम- पाँचथरको फिदिम बजार क्षेत्रमा करिब एक घण्टाभित्र ४१ वटा जनावर र एक बालिकालाई टोक्दै आतंक मच्चाएको शंकास्पद भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा रेविजको जोखिम बढेको भन्दै स्थानीय तह र पशु स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरेका छन्।

उक्त कुकुरले शनिबार साँझ करिब एक घण्टाको अवधिमा बजारका विभिन्न स्थानमा ४० वटा कुकुर र एक बालिकालाई टोकेको थियो। त्यसपछि नगरपालिकाले आइतबार कुकुरलाई नियन्त्रणमा लिएर फिदिम–४ मा बनाइएको क्वारेन्टिनमा राखेको थियो। तर कुकुरले टिन काटेर बाहिर निस्कँदै स्थानीयको एउटा माउ भैँसीलाई समेत टोकेको थियो।

त्यसपछि पुनः नियन्त्रणमा लिएर फिदिम–२ मा निर्माण गरिएको अर्को क्वारेन्टिनमा राखिएको उक्त कुकुर सोमबार मरेको थियो। मृत्यु भएपछि गरिएको प्रारम्भिक परीक्षणमा रेविज सङ्क्रमण पुष्टि भएको नगरपालिकाको पशु सेवा शाखाका प्रमुख नारायण थापाले जानकारी दिए।

मृत्यु भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्राविधिकले र्‍यापिड परीक्षण गरेका थिए। परीक्षणमा रेविज सङ्क्रमण पुष्टि भएको केन्द्रका निमित्त प्रमुख निरजकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार थप पुष्टि गर्न कुकुरको नमुना पीसीआर परीक्षणका लागि पनि सङ्कलन गरिएको छ।

यसअघि पनि पाँचथरका विभिन्न स्थानीय तहमा रेविजको शङ्कामा गाई, गोरु, भैँसी र बाछा मर्ने घटना सार्वजनिक भइसकेका छन्। पछिल्ला दिनमा सङ्क्रमित वा शङ्कास्पद कुकुरले टोकेका पशु धमाधम मर्न थालेपछि जिल्लामा रेविज फैलिने जोखिम बढेको पशु स्वास्थ्यकर्मीको भनाइ छ।

रेविजको जोखिम बढेसँगै सङ्क्रमण देखिएका तथा तिनसँग सीमा जोडिएका स्थानीय तहले विशेष सतर्कता अपनाउन थालेका छन्। पशुमा अत्यधिक रिसाउने, जथाभावी टोक्ने, धेरै र्‍याल चुहाउने, पानीदेखि डराउने, खाना खान छाड्ने वा अस्वाभाविक व्यवहार देखिएमा तत्काल सम्बन्धित पालिकाको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

त्यसैगरी, कुनै व्यक्ति वा पशुलाई कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई तुरुन्तै साबुनपानीले राम्रोसँग धुने र ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर रेविजविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। रेविजको लक्षण देखिएपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप लगाउनु नै सबैभन्दा प्रभावकारी बचाउको उपाय भएको उनीहरूको भनाइ छ।

स्थानीय तहले घरपालुवा कुकुरलाई खुला नछाड्न, नियमित रूपमा रेविजविरुद्धको खोप लगाउन तथा समय–समयमा स्वास्थ्य परीक्षण गराउन पनि पशुपालकलाई आग्रह गरेका छन्। जिल्लामा रेविजको जोखिम बढ्दै गएकाले समुदायस्तरमै सचेतना, निगरानी र समयमै सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय सक्रिय भएका छन्।

प्रकाशित: १९ साउन २०८३ ९:१० | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast