काठमाडौँ- जनअधिकार पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले सुनसरी घटनामा ज्यान गुमाएका पीडित परिवारसँग भेट गरेका छन्।
आइतबार सुनसरीको देवानगञ्ज पुगेर यादवले ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग भेट गरेका हुन्।
भेटका क्रममा उनले दुवै जनाको न्यायको लडाइँमा आफूले प्रतिबद्धता जनाएको बताएका छन्।
‘सहिद जयप्रकाश मेहता र सहिद ओमप्रकाश मेहताका परिवारसँग भेटेर श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको न्यायको लडाइँमा हाम्रो प्रतिबद्धता व्यक्त गरेको छु,’ अध्यक्ष यादवले भने।
साउन १० गते मध्यरातमा देवानगञ्जमा दुई समुदायबीच झडप हुँदा वडा नम्बर ३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाशको मृत्यु भएको थियो।
त्यस्तै गोली लागेर घाइते भएका जयप्रकाशको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा साउन १४ गते मृत्यु भएको थियो। उनको पेटमा गोली लागेको थियो।
सुनसरी घटनाको विरोधमा तराई–मधेशका जिल्लाहरूमा प्रदर्शन चर्किएको थियो। प्रदर्शनकै क्रममै सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर १९ वर्षीय युवक गणेश यादवको मृत्यु भएको थियो।
विरोध प्रदर्श चर्किँदै गएपछि गृहमन्त्री सुधन गुरुङ आफैँ सुनसरी र सिरहा पुगेर पीडित परिवारसँग भेटेर माग पूरा गर्ने आश्वासन दिएका थिए।
त्यस्तै गृहमन्त्री गुरुङले आइतबार जनकपुरधाममा संयुक्त हिन्दु मोर्चासँग वार्ता गरेर माग पुरा गर्ने प्रतिबद्धता जनाएका छन्।


