काठमाडौँ– नागरिक समाजका अगुवाहरूले सुनसरीको देवानगञ्जबाट सुरु भई देशका विभिन्न स्थानमा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई सर्वपक्षीय बैठक आयोजना गरी शान्ति, सद्भाव र संयमताका लागि सामूहिक आह्वान गर्न आग्रह गरेका छन् ।
प्राध्यापक, लेखक तथा पूर्वराजदूतसहितका नागरिक समाजका प्रतिनिधिहरूले शनिबार ६ बुँदे अपिल जारी गर्दै संघीय सरकारले गरिरहेको पहलकदमीलाई थप प्रभावकारी बनाउन सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक संस्थालाई समेटेर सर्वपक्षीय पहल गर्न माग गरेका हुन् ।
अपिलमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई बिनामोलाहिजा कानुनी कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरिएको छ । साथै, कानुन कार्यान्वयनमा सुरक्षा निकायको मनोबल उच्च राख्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइएको छन् ।
नागरिक समाजका अगुवाहरूले कुनै पनि समुदायको धार्मिक आस्थामा चोट पुग्ने गतिविधि नगर्न, सामाजिक सद्भाव, सहिष्णुता र साम्प्रदायिक सहअस्तित्वको अभ्यास गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनीहरूले सामाजिक हिंसा भड्काउने, शान्तिसुरक्षामा चुनौती दिने, कानुन हातमा लिने तथा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड वा आगजनी गर्नेलाई कडा कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।
अपिलमा नागरिकको जिउधनको सुरक्षामा जोखिम उत्पन्न भए तत्काल उद्धार र सम्बोधन गर्न सक्ने प्रभावकारी प्रतिकार्य संयन्त्र स्थानीय तहमा निर्माण गरी परिचालन गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।
अपिलमा पीताम्बर शर्मा, चैतन्य मिश्र, नीलाम्बर आचार्य, महेश मास्के, लीलामणि पौडेल, सुशील प्याकुरेल, हिरण्यलाल श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, दीपकुमार उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, दुर्गेशमान सिंह, टंक कार्की र विष्णुपुकार श्रेष्ठको हस्ताक्षर छ ।
अपिलमा उनीहरूले नेपालको सामाजिक, धार्मिक, जातीय, भाषिक तथा साम्प्रदायिक सद्भावलाई देशको अमूल्य सम्पत्ति उल्लेख गर्दै हिंसा र द्वन्द्व बढाउने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न सम्पूर्ण राजनीतिक दल, धार्मिक तथा सामाजिक संस्था, नागरिक समाज, बुद्धिजीवी वर्ग र आमनागरिकलाई अपिल गरेका छन् ।


