मधेशकेन्द्रित दलसँग प्रधानमन्त्री शाहको दुई घण्टा : के के भए कुराकानी?

हिमाल प्रेस १५ साउन २०८३ १५:३३ | Friday, July 31, 2026
26
SHARES
मधेशकेन्द्रित दलसँग प्रधानमन्त्री शाहको दुई घण्टा : के के भए कुराकानी? मधेशकेन्द्रित दलका नेताहरूसँग शुक्रबार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)।

काठमाडौँ-  मधेशकेन्द्रित राजनीतिक दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री शाहसँगको छलफलपछि मधेश केन्द्रित दलका नेताहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘प्रधानमन्त्री इन्टरएक्टिभ हुनुहुन्न, संवाद छलफल गर्न रुचाउनु हुँदैन भन्ने थियो, मैथिली बोल्न जान्नु हुन्छ कि हुन्न भन्ने आशंकाहरू थिए,’ हिमालप्रेससँग मधेशकेन्द्रित दलका नेता रामकुमार शर्माले भने, ‘दुई घन्टासम्म छलफल भयो, इन्टरएक्टिभ बैठक भयो। प्रधानमन्त्रीज्यूले नेपाली र मैथिली दुवै भाषामा संवाद गर्नुभयो। बैठक सरकारात्मक भएको छ।’

पछिल्लो समय तराई मधेशमा देखिएका समस्या समाधान गर्न आफूहरूले सुझाव दिएको र समाधान गर्न प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको उनले बताए। सामान्य झडप साम्प्रदायिक रूप लिएकोमा प्रहरीले दिएको केही अभिव्यक्ति पनि कारण बनेको आफूहरूले बताएको शर्माले जनाए।

‘आईजीपीले रोहिंग्यिाहरू भारत हुँदै नेपाल आउने क्रम बढेको, सुनसरीमा प्रहरीको गोलीले नभई अन्यको गोली लागेर मृत्यु भएको यस्ता वक्तव्यहरूका कारण साम्प्रदायिक हिंसा भड्किएको भनेर हामीले भनेका छौँ,’ उनले भने, ‘हिंसा भड्किए पनि गृहमन्त्री सक्रिय नहुँदा स्थिति प्रतिकुल बन्न पुग्यो।’

हिंसा बढ्नुमा सरकारको कमजोरी रहेको र यो प्राकृतिक नभएर नियोजित भएको आफूहरूले प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए। छलफलमा सहभागी मधेश केन्द्रित दलका नेताहरूले तराई-मधेशमा देखिएको पछिल्लो समस्या समाधान गर्न प्रधानमन्त्री आफैँलाई पहलकदमी लिन सुझाव दिएका छन्।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले पहिलोपटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै सकारात्मक भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ।’

पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए।

उनले भने,‘अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि र्‍यापिड एक्सन टिम गठन गर्न सुझाव दिएका छौँ। त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेका छौँ।’ राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न सुझाव दिएको बताए।

उनले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे। सुनरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समधानका लागि आग्रह गरिएको बताए।

मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गरे।

उनले भने,‘यस विषयमा प्रधानमन्त्रीज्यूसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न अवस्था सामान्य पार्न हामीले केही सुझाव दिएका छौँ।’

छलफलमा सहभागी नेताहरूले संघीयताप्रति प्रधानमन्त्री शाहको धारणाबारे समेत प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले आफूलाई संघीयताविरोधीको रूपमा शंका नगर्न आग्रह गरे। ‘म संघीयताविरोधी होइन, संघीयताविरोधीको रूपमा शंका नगर्नुस्,’ प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै नेता शर्माले भने,‘हाम्रो पार्टीले संघीयताको विरोधमा निर्णय गरेको छैन, संघीयतालाई सवल बनाउन दृढ छौँ, प्रदेशसभाको संरचनालाई बलियो बनाउन खोजेका हौँ।’

छलफलमा सहभागी मधेश केन्द्रित नेताहरूले संविधानमा भएको व्यवस्थाअनुसार प्रहरी र प्रशासनको अधिकार तत्काल प्रदेशलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

‘प्रदेश सरकारलाई तत्काल प्रहरी हस्तान्तरण गर्न सुझाव दिएका छौँ, यो संविधानकै व्यवस्था हो,’ शर्माले भने,‘यसो गर्दा अहिले देखिएका घटनाहरू प्रदेश सरकारले समाधान गर्नुपर्ने हुन्छ, प्रदेश सरकार तत्काल घटनास्थलमा पुग्न सक्छ।’

जवाफमा प्रधानमन्त्री शाहले पछिल्लो समय तराई-मधेशमा देखिएको समस्या समाधान गर्न आफू स्वयंले पहलकदमी लिने बताएको नेताहरूले बताएका छन्।

प्रकाशित: १५ साउन २०८३ १५:३३ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast