काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा केही दिनअघि भएको विवाद र त्यसको प्रभाव कोशी क्षेत्र हुँदै तराईका विभिन्न जिल्लामा फैलिएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले नेपाली समाजको सामाजिक, धार्मिक र सांस्कृतिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।
बिहीबार निर्मल निवासबाट जारी सद्भाव सन्देशमा पूर्वराजा शाहले सुनसरीका केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्वबाट जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भूभागसम्म फैलिँदा जनजीवन अशान्त बनेको सुन्दा आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गरेका छन्।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै विभिन्न समुदायबीचको आपसी सद्भाव नेपालको पहिचान र अन्तर्राष्ट्रिय सम्मानको आधार भएको बताएका छन्। यही विशिष्ट सामाजिक र सांस्कृतिक विशेषतालाई कुनै पनि हालतमा कमजोर हुन दिन नहुने उनको भनाइ छ।
पूर्वराजा शाहले हरेक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्दै आए पनि परस्पर प्रेम, सद्भाव र सहअस्तित्वको भावना कायम राख्नु नै नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गरेका छन्। कसैबाट पनि यसमा खलल पार्ने काम हुन नहुने उनले बताएका छन्।
नेपाललाई सबै समुदायबीच सामञ्जस्य कायम रहेको मुलुकका रूपमा चिनाउँदै उनले पछिल्ला अवाञ्छित घटना नेपालको मौलिक मूल्य र मान्यताविपरीत भएको टिप्पणी गरेका छन्।
सन्देशको अन्त्यमा उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई आपसी मेलमिलाप र एकताका साथ अघि बढ्न आग्रह गर्दै भनेका छन्, ‘हामी नेपाली मिलौँ, यही आजको आवश्यकता हो।’


