काठमाडौँ- नेकपा एमालेकी नेत्रृ एवं सचेतक नीता घतानीले १०३ दिनदेखि माइतीघरमा अनशन बसेकी दीपा नेपालीलाई न्याय नपाएको विषयमा गुनासो गरेकी छन्। उनले आजको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै १३ प्रतिशत दलित समुदायको आवाज सरकारका लागि सुन्नै नपर्ने आवाज हो भन्दै प्रश्न गरेकी छन्।
‘सरकार, कोठा खाली छ! भन्दै दीपा नेपाली १०३ दिनदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण सत्याग्रहमा छिन् । १०३ दिन यो कुनै सामान्य संख्या होइन, यो सरकारको मौनता, उदासीनता र असफलताको हिसाब हो।’ घतानीले भनिन्,‘ म सरकारलाई सोध्न चाहन्छु, के सिंहदरबारबाट माइतीघर मण्डलासम्म पुग्न यति कठिन छ? कि १३ प्रतिशत दलित समुदायको आवाज सरकारका लागि सुन्नै नपर्ने आवाज हो?’ उनले सरकारले दीपा नेपालीको आवाज सुन्न कुनै अप्रिय घटना नै पर्खिरहेको आरोप लगाइन्।
‘आज पनि उज्ज्वल भविष्यको सपना बोकेर उच्च शिक्षा हासिल गर्न सहर आएका दलित विद्यार्थीहरू जातका कारण कोठा नपाएर गाउँ फर्किन बाध्य छन्। यही विभेद, अपमान र पीडाविरुद्ध आज दिपा नेपाली सत्याग्रहमा बस्न बाध्य छिन् ।’ उनले थपिन्।


