प्रतिनिधिसभा आज पनि विपक्षीको विरोध, कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिन गर्न कांग्रेसको माग

हिमाल प्रेस १४ साउन २०८३ ११:२७ | Thursday, July 30, 2026
8
SHARES
प्रतिनिधिसभा आज पनि विपक्षीको विरोध, कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिन गर्न कांग्रेसको माग नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा। फाइल तस्बिर।

काठमाडौँ-  प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

विरोधपछि सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिए। गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीले उठेर विरोध गर्दै आइरहेका छन्।

सम्बोधनका क्रममा प्रमुख सचेतक थापाले कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् ।

‘यत्रो ठुलो घटना हुँदा, एक जना नागरिकको ज्यान जाँदा र दर्जनौँ घाइते हुँदा पनि सरकार लाचार बनेको छ,’ थापाले भनिन्, ‘यो घटनाको जवाफ सरकारले दिनुपर्छ र यसको पूर्ण जिम्मेवारी लिनुपर्छ ।’

सरकारको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि कडा टिप्पणी गरिन् । ‘यति गम्भीर विषयमा प्रधानमन्त्री मौन हुनुहुन्छ । कुरा–कुरामा आँसु झार्ने गृहमन्त्री पनि आज मौन बस्नु आश्चर्यजनक छ । नेतृत्व भनेको केवल प्रशासन चलाउनका लागि मात्र होइन, नागरिकको जीउधनको रक्षाका लागि पनि हो,’ थापाले भनिन् ।

प्रमुख सचेतक थापाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

प्रकाशित: १४ साउन २०८३ ११:२७ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast