काठमाडौँ- विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको पार्सलमा १८.४८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।
बुधबार साँझ विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स सुजलाई एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ । उनी पार्सल विमानस्थल पुर्याउन पुगेका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउन लगाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी जारी छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको छ।



