सुनसरी घटना छानबिन समितिमा थपिए दुई सदस्य

हिमाल प्रेस १३ साउन २०८३ १९:३१ | Wednesday, July 29, 2026
सुनसरी घटना छानबिन समितिमा थपिए दुई सदस्य

काठमाडौँ- सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ।

गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरेको हो।

समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन समेत दिइएको छ।

आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो।

मन्त्रालयले सुनसरीलगायतका अन्य जिल्लामा सोही प्रकृतिको घटना घट्न नदिनका लागि पूर्वतयारी समेत सुरु गरेको छ।

यसका लागि मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय गरिरहेको छ।

मन्त्रालयले उक्त क्षेत्रमा सुरक्षा अनुगमन र समन्वयलाई तीव्र पारेको छ। मन्त्रालयमा गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको छ।

मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल सुनसरीको देवानगञ्जलगायत अन्य संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ।

प्रकाशित: १३ साउन २०८३ १९:३१ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast