इटहरी– सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको इनरुवा बजार क्षेत्र तथा महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू लागू गरिएको हो।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न नपाउने आदेशमा उल्लेख छ।
जिल्ला प्रशासनका अनुसार कर्फ्युको क्षेत्र पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटरभित्रको क्षेत्र कायम गरिएको छ।
प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न आवश्यक कदमस्वरूप उक्त निर्णय गरिएको जनाएको छ।


