काठमाडौँ- नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ। पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ।
पहिरो हटाएर सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउनका लागि घटनास्थलमा ३ वटा मेसिन (स्काभेटररडोजर) प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ। पहिरोका कारण मुख्य राजमार्गमा ठूलो संख्यामा सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन भरतपुरले सडक खुलाउने प्रयास जारी रहेकाले रोकिएका सम्पूर्ण यात्रु तथा चालकहरूलाई धैर्य गरी प्राविधिक टोलीलाई सहयोग गर्न आग्रह गरेको छ ।


