काठमाडौँ- देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
सोमबार बिहान ६:४० बजेसम्मको प्राप्त विवरण अनुसार धेरै ठाउँमा सडक बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन्।
बागमती प्रदेशमा सडक अवरोधको असर धेरै देखिएको छ। काभ्रेस्थित बीपी राजमार्गको रोशी गाउँपालिका ९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेशीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशीस्थित चारकिलो र कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा बाढीले त्रिशूली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड ठप्प भएको छ।
दोलखाको लामासाँघु-रामेछाप राजमार्ग पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक बाटो खुलाएर सवारी सुचारु गरिएको छ। चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा भने सवारी आवागमन सुचारु भएको छ।
कोशी प्रदेशतर्फ अविरल वर्षाका कारण इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ तर त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खामा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ।
गण्डकी प्रदेशमा म्याग्दीको बेनी-जोमसोम सडक खण्डको बैसेरी र सुकेबगरमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ। बागलुङस्थित कालीगण्डकी करिडोरको बेलबगरमा भने पहिरो पन्छाएर एकतर्फी सवारी खुलाइएको छ।
लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडक पनि पहिरोले नराम्ररी प्रभावित भएका छन्। लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको खोलावाङमा पहिरो खस्दा घोराही-थवाङ सहिद राजमार्ग र पाल्पाको सिद्धबाबामा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबीसकोटमा बाढीले भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ। मुगुको झ्यारी खोलामा पहिरो जाँदा नाग्म-गमगढी सडक खण्ड पनि ठप्प भएको छ। सडक अवरुद्ध भएका स्थानमा खुलाउने प्रयास भइरहेको छ। सम्बन्धित निकायले ‘जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन’ यात्रु तथा चालकलाई आग्रह गरेको छ।


