स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिँदै प्रहरी

हिमाल प्रेस १० साउन २०८३ २१:३२ | Sunday, July 26, 2026
8
SHARES
स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिँदै प्रहरी फाइल तस्बिर

गण्डकी – स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिन थालेको छ।

‘अप्रेसन ३६५’ अन्तर्गत समाजमा ध्वनि प्रदूषण गर्ने, त्रसित बनाउने र जाँचका क्रममा प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न थालिएको हो।

गएराति पोखराका विभिन्न स्थानबाट त्यस्ता १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइ कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गरेको आरोपमा साउन ७ गते ३३ र ६ गते १८ मोटरसाइकललाई नियन्त्रणमा लिइ कारबाही गरेको थियो।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सुरु गरेको ‘अप्रेसन ३६५’का क्रममा हालसम्म ७९८ वटा सवारीसाधन र ३६ जना चालकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए।

मोटरसाइकलका पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातका समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खलबलाउनेजस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन गत वर्षदेखि ‘अप्रेसन ३६५’ सञ्चालन गरेको थियो।

स्वीकृति नलिइ सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ।

प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाइएको छ।

प्रकाशित: १० साउन २०८३ २१:३२ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast