इलाममा भेटियो दुर्लभ हिमाली कालो भालु

हिमाल प्रेस १० साउन २०८३ ११:२३ | Sunday, July 26, 2026
10
SHARES
इलाममा भेटियो दुर्लभ हिमाली कालो भालु

काठमाडौँ-  इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ । माइजोगमाई गाउँपालिका वडा नं.६ र वडा नं.२ को सीमावर्ती क्षेत्र थुम्के रानी क्षेको समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु फेला परेको हो ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालु भेट्टाएर क्यामरामा कैद गर्न सफल भएका छन्।

आइतबार बिहानै चरा तथा वन्यजन्तुको खोजी गर्ने क्रममा उक्त भालु भेटिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले जानकारी दिए। खरेल र खवास विगत दुई दिनदेखि उक्त क्षेत्रमा चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखीकरणमा संलग्न रहेको गोरखापत्रमा खबर छ।

हिमाली क्षेत्रमा पाइने कालो भालुको प्रत्यक्ष अवलोकन तथा तस्बिर कैद हुनु जैविक विविधता संरक्षण र वन्यजन्तुको उपस्थितिको महत्वपूर्ण प्रमाणका रूपमा लिइएको खरेलले बताए। हिमाली कालो भालु नेपालको पूर्वदेखि पश्चिम सम्मका वन क्षेत्रमा पाइने गरिएको वन्यजन्तु संरक्षणकर्मीको दावी छ ।

विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, लाङटाङ क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, धौलागिरि र अन्य मध्य तथा उच्च पहाडी वनमा कालो भालु पाइने गरेको छ ।कोलो भालु सामान्यतया १,५०० देखि ४,००० मिटर उचाइ सम्मका वन क्षेत्रमा बसोबास गर्छ।

गर्मीयाममा माथिल्लो क्षेत्रमा र जाडोयाममा तल्लो क्षेत्रमा झर्ने प्रवृत्ति उक्त जनावरमा हुने गर्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले हिमाली कालो भालुलाई सङ्कटापन्न सुचीमा राखेको छ ।उक्त क्षेत्रमा विभिन्न प्रजातिका चरा समेत भेटिएको खरेलले जानकारी दिए।

प्रकाशित: १० साउन २०८३ ११:२३ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast