पुस्तक चर्चा

तीर्थाटन होस् कि देशाटन? आखिर फस्टाउँछ पर्यटन!

ध्रुवहरि अधिकारी ९ साउन २०८३ १२:४९ | Saturday, July 25, 2026
10
SHARES
तीर्थाटन होस् कि देशाटन? आखिर फस्टाउँछ पर्यटन!

आवरणमा छापिएको कृतिको नाम ‘जहाँ छचल्किए भावना’ र साथमा राखिएको चित्र हेर्दा औसत पाठकले यसलाई कुनै एक जलधि नजिकको गन्तव्यमा पुगेका बखतको अनुभूतिको सँगालो मात्र ठान्न सक्छ। तर निर्मलकुमार आचार्यको यस नवीनतम् सृजनाको फाँट निकै फराकिलो छ। जम्मा १६८ पृष्ठको पातलो पुस्तकभित्रका सामग्री पछ्याउँदै जाँदा त तीनवटा देशका दर्जनौं स्थानको यात्रा गराउने लक्ष्य लिएको पाइन्छः- नेपाल, चीन र भारत।

नेपालका चर्चित तीर्थस्थल, भारतका अनेक पवित्र स्थानहरू र चीनको तिब्बत प्रदेशमा पर्ने कैलाश-मानसरोबर यात्रा गर्दा देखिएका ठाउँहरूको रोचक वर्णनले नै एक तहको सन्तुष्टि प्रदान गर्छन् भने धार्मिक महत्वका अन्य मठ, मन्दिर र नदीहरूसँग गाँसिएका कथा एवं प्रसङ्‌गहरूले मानवजीवनका सबल र दुर्बल पक्षहरूबारे घोत्लिन मद्दत गर्छन्। भौतिक वस्तु र सेवाहरूको उपभोगमा सीमित राखिएको जीवनप्रणालीले मानिसलाई सेवा र सुबिस्ता त दिन्छन् तर आध्यात्मिक सन्तुष्टिको छेउ पु-याउन सक्दैनन्। त्यो कमीको पूर्ति गर्न के कसो गर्नुपर्छ होला त ?

घरगृहस्थीको चटारोबाट छोटो अवकाश लिएर तीर्थाटनमा निस्कनु जीवनको सार्थकता खोज्ने एक उपाय हुने रहेछ- निर्मलकुमार आचार्यको नवीनतम् पुस्तकले पाठकलाई यसैतर्फ घच्घच्याउने देखियो। ‘भूमिका’ मा प्रतीक ढकालले यसै पक्षको सङ्‌केत गर्नुभएको छ।

आचार्यको यो चर्चित रचना २८ वटा यात्रा-निबन्धको सँगालो हो। यिनकै माध्यमबाट पाठकले स्वदेशका र दुई छिमेकी देशका महत्त्वपूर्ण तीर्थस्थलमा गएर फर्केको अनुभव गर्न सक्छन्। वैदिक सनातन परम्पराका अनुयायीहरू त स्वतः लाभान्वित हुने नै भए। ‘यात्रा साहित्य त कल्पनामा लेखिनै हुन्न’ भन्ने भूमिकाकारको टिप्पणीलाई लेखकले पूरापूर ध्यान दिएको देखिन्छ।

काठमाडौं उपत्यकाभित्र रहेका कतिपय मठ, मन्दिरदेखि लिएर देशका अन्य भाग र भेगमा रहेका पावन स्थलहरूको परिचय र विशेषतालाई समेट्न लेखकले निकै जाँगर चलाएको देखिन्छ। जस्तो, बराहक्षेत्रको यात्रावर्णनमा पूर्वतिरका हलेसीलगायत अन्य तीर्थस्थानको चर्चा, प्रसङ्‌ग आएको हुन्छ। त्यसैगरी, लेखकले पाठकलाई कतिपय सन्दर्भमा पर्यटक बनाएर नयाँ ठाउँहरूमा लगेको अनुभूत हुन्छ। देशभित्रको रारा ताल र त्यसको परिधिको वर्णनलाई स्वदेशको उदाहरण मान्न सकिन्छ भने मेचीपारिको दार्जीलिङ-यात्रालाई छिमेकी देशको साहित्यिक-सांस्कृतिक भ्रमण मान्न सकिन्छ। कोलकाता, बम्बई र दक्षिणी प्रदेशका धाम र तीर्थस्थल पुग्ने क्रममा देखे-भेटेका स्थान र सज्जनहरूका उद्‌गार बटुलिएका छन्। बद्री, केदार जाँदा सामना गरेका चुनौतीको उल्लेख उत्तिकै हृदयग्राही छन्।

तिब्बतमा पर्ने कैलाश-मानसरोबरबाहेक चीनको मुख्य भूमिमा पर्ने शहर तथा बस्ती एवं त्यहाँ उपलब्ध सेवा, सुविधा र प्रविधिका झलक देखाउने चेष्टा पनि भएको छ। आचार्यको चीन-यात्रा नेपाली पत्रकारहरूको एक टोलीको सदस्यका रूपमा भएको रहेछ।

दैशभित्रका पौराणिक र ऐतिहासिक महत्वका जिल्ला, इलाकाहरू छिचोल्दै गर्दा पाठकले पश्चिमको पहाडी जिल्लाअर्घाखाँची पनि जान पाउँछन्। एउटा छुट्टै शीर्षक छ ‘के छैन अर्घाखाँचीमा!’ त्यता जाने योजना बनाएका लेखकलाई एक मित्रले भनेका रहेछन्–के छ र अर्घाखाँचीमा? यसकै प्रत्युत्तर रहेछ लेखकको यसबारेको शीर्षक। हुन पनि थरीथरीका मन्दिरका अतिरिक्त वैयाकरण पाणिनि र ऋषि पतञ्जलीसँग गाँसिएका स्थान मात्र होइन जङ्‌गबहादुरको न्वारान भएको भनिने ठाउँ पौवा, बल्कोट पनि अर्घाखाँचीका आकर्षणमा पर्ने रहेछन्। खोजीपसे अरू पनि भेटिने जानकारी यसै नियात्रामा फेला पर्छ।

भारतका तीर्थस्थल डुल्दा भेट भएका उताका तीर्थयात्रीका ती उद्‌गारको चर्चा लेखकबाट भएको छ जसमा भारतवर्षका हिन्दूहरूले नेपाललाई शिर र हिन्दुस्थानलाई धड (शिरमुनिको अङ्‌ग) मानिआएको परम्पराको उल्लेख छ। यहींछेउ आएपुग्दा लाग्छ, किन असंख्य नेपाली नुवाकोट-रसुवामा पर्ने वेत्रावतीलाई उत्तर गया मानेर पितृहरूको श्राद्ध गर्ने सुविधा छँदाछँदै हजारौं नेपाली अनेक दुःख कष्ट सहेर ‘गया श्राद्ध’ को लागि हरेक वर्ष भारतको विहारतिर दगुर्ने गर्छन्।

पण्डा-प्रवृत्ति भएका ठगहरूको चङ्‌गुलमा पर्छन्। वेत्रावतीको विकल्प काठमाडौंमै गोकर्ण उपलब्ध छ। सरल भाषामा सरस शैलीमा लेखिएको छ यो विवेच्य कृति। एक समय गोरखापत्रको प्रधान सम्पादक भएर काम गरेको अनुभव भएका आचार्यलाई सरलता अँगाल्न गाह्रो नपरेको हुनुपर्छ।

आचार्यकै यसअघिका कृतिमध्ये ‘बिर्सनै नहुने कृष्णप्रसाद’ र ‘प्रथम नेपाली महिला’ यस हरफको लेखकले पढिसकेको हुनाले यहाँ सरलताको पक्ष कोट्याइएको हो। सरल हुन निकै गाह्रो हुन्छ भन्ने भूमिका-लेखकको कथनसँग मेरो पूरै सहमति छ।

पुस्तकमा समावेश हरेक निबन्धको शीर्षकसाथ स्थान विशेषको झलक पाइने तस्बिर पनि भएकोले पुस्तक वजनदार बन्न पुगेको छ यद्यपि ती तस्बिरमुनि स्थान चिनाउने छोटा लेखोट (क्याप्सन) नभएकोले कतिपय पाठकलाई मीठो परिकारमा नून बिलिनु भएजस्तो लाग्नसक्छ। यात्राक्रममा आफू र आफ्नी जीवनसङ्‌गिनी पुगेका प्रत्येक ठाउँको समुद्रीसतहमाथिको उचाइ उल्लेख गरेर लेखकले सम्भाव्य यात्रीहरूलाई गुन लगाएको मान्न सकिन्छ।

वास्तवमा, २०८३ वैशाखमा प्रकाशित यो पुस्तक तीर्थयात्रामा निस्कने सोच भएका र देश-दर्शनमा रुचि राख्ने हरेक नेपालीको लागि उपयोगी निर्देशिका (म्यानुएल) नै हो। त्यसो हुनाले लेखकले अर्को संस्करणमा यस संस्करणमा छुटेका दर्शनीय स्थलहरू समावेश गर्ने प्रयत्न गरे बेश हुने देखिन्छ। हुनसक्छ, यसको लागि आचार्यले यात्राको अर्को चरणमा प्रवेश गर्नु परोस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast