मिडफिल्ड बलियो बनाउन गुइमाराएसमाथि आर्सनलको नजर

हिमाल प्रेस ८ साउन २०८३ ८:०५ | Friday, July 24, 2026
2
SHARE
मिडफिल्ड बलियो बनाउन गुइमाराएसमाथि आर्सनलको नजर

इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले न्यूक्यासल युनाइटेडका कप्तान ब्रुनो गुइमाराएसका लागि ७० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको छ।

ब्राजिलका मिडफिल्डर गुइमाराएस आर्सनलको प्राथमिक लक्ष्य हुन्। २८ वर्षीय ब्रुनो पनि प्रिमियर लिग च्याम्पियन आर्सनलमा आबद्ध हुन इच्छुक रहेको बताइएको छ।

यस गर्मीयाममा गुइमाराएस आर्सनल जान चाहेकोबारे न्यूक्यासल पनि जानकार रहेको छ। बीबीसीका अनुसार उनको सम्भावित स्थानान्तरणबारे दुवै क्लबबीच वार्ता जारी रहेको र पछिल्ला केही दिनयता छलफलले तीव्रता पाएको विश्वास गरिएको छ।

व्यक्तिगत सम्झौताका सर्तहरूमा सहमति हुन कठिन नहुने अपेक्षा गरिएको भए पनि आर्सनलको ७० मिलियन पाउन्डको प्रस्तावले न्यूक्यासलले तय गरेको मूल्य पूरा गर्छ वा गर्दैन भन्ने अझै स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ।

यद्यपि न्यूक्यासलनिकट स्रोतहरूका अनुसार क्लबले यस गर्मीयाममा गुइमाराएसलाई बेच्ने कुनै योजना बनाएको छैन। आर्सनलबाट हालसम्म खेलाडीका लागि कुनै औपचारिक प्रस्ताव पनि आएको छैन।

गत सिजनको लिग उपाधिलाई थप मजबुत बनाउने लक्ष्यसहित आर्सनल यस गर्मीयाममा उच्चस्तरीय खेलाडी भित्र्याउन प्रतिबद्ध छ।

आर्सनलले एस्टन भिल्लाका मर्गन रोजर्सलाई अनुबन्ध गर्न चासो देखाएको थियो। तर ८० मिलियन पाउन्डभन्दा बढी मूल्य तिर्न अस्वीकार गरेपछि रोजर्स ११७ मिलियन पाउन्डमा चेल्सी पुगे।

आर्सनललाई चेल्सीको प्रस्ताव बराबरी गर्ने अवसर दिइएको थियो तर क्लबले त्यसलाई अस्वीकार गरेको बुझिएको छ।

त्यसैगरी, गुइमाराएसको हकमा पनि आर्सनलले अधिकतम मूल्यको सीमा तय गरेको छ र मिडफिल्डरलाई अनुबन्ध गर्ने चाहना भए पनि आवश्यकता भन्दा बढी रकम तिर्न तयार छैन।

आर्सनलको चासो एस्टन भिल्लाका डिफेन्डर एज्री कोन्सातर्फ पनि छ। क्लबले इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धताबारे जानकारी लिइसकेको छ।

प्रकाशित: ८ साउन २०८३ ८:०५ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast