काठमाडौँ- श्रमिक तथा पीडितले दिएका उजुरी/निवेदनलाईअब १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।
विगतमा विभिन्न माध्यम (हेल्लो सरकार, मन्त्रालय वा विभाग) बाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै मन्त्रीसमक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको जनाइएको छ।
श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने, यदि कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनुपर्ने, श्रमिकका उजुरीउपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने, श्रम कानुन अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने, श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णयहरू समयमै कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू समेटेर निर्देशन दिएको हो।
हेल्लो सरकारबाट प्राप्त गुनासोहरू सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउन समेत विभागले निर्देशन दिएको छ।

