बाढीले ध्वस्त पारेको घर
बागलुङ- निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवखानी–बोङ्गादोभान मोटरबाटोअन्तर्गत मल्मको काउले खोलादेखि नाच्नेडाँडा जोड्ने सडकखण्डको काउलेमा करिब ७५ मिटर भूभाग पहिरोले बगाएपछि गैराखर्क बस्ती जोखिममा परेको हो।
मनसुन सुरु भएसँगै गलकोट क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएपछि गैराखर्कवासी त्रासमा रहेको स्थानीय ज्ञानबहादुर थापाले बताए।
उनले भने, “पहिरोले बाटो पूरै बिग्रिसकेको छ। पानी नरोकिए र तत्काल नियन्त्रणको प्रयास नभए पहिरो बस्तीमा पस्ने डरले रातभर निदाउन सकेका छैनौँ।”
थापाका अनुसार पहिरोका कारण गैराखर्क गाउँका १३ घरपरिवार, जनहित माध्यमिक विद्यालय र जनहित कला केन्द्रको भवन जोखिममा परेका छन्। पहिरोले मोटरबाटोमा क्षति पुर्याउँदा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा विद्यार्थीको विद्यालय आवतजावत र स्थानीयको दैनिक जीवनसमेत प्रभावित भएको उहाँले बताउनुभयो।
गलकोट नगरपालिका–७ का वडाध्यक्ष राज थापाले पहिरो नियन्त्रण गरी बस्तीलाई सुरक्षित बनाउन पहल भइरहेको बताए। उनले भने, “पहिरो रोकथामका लागि नगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरी तत्काल अस्थायी संरक्षणको प्रयास गरिरहेका छौँ।”
समयमै जोखिम न्यूनीकरण गर्न नसके जनधनको ठुलो क्षति हुन सक्ने सम्भावना रहेको वडाध्यक्ष थापाले बताए। पहिरोको अवस्थाबारे गलकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई जानकारी गराइएको उनले बताए। स्थानीयले क्षति हुनुअघि नै सचेतना अपनाउन र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

