इरानी आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

हिमाल प्रेस ४ साउन २०८३ १६:५८ | Monday, July 20, 2026
6
SHARES
इरानी आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी फाइल तस्बिर

काठमाडौँ- बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन्।

अमेरिका र इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्ला आक्रमणको जानकारी सार्वजनिक गरेका हुन्।

होर्मुज जलसन्धिमा ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका–इरानबीचको कमजोर युद्धविराम लगभग भंग भएको छ। त्यसयता दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन्।

अमेरिकी ‘फिफ्थ फ्लीट’ तैनाथ रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। कुवेतको सेनाले पनि इरानबाट आक्रमण गरिएको पुष्टि गरेको छ।

यसअघि सोमबार इरानको रिभोलुसनरी गाड्र्सले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दाबी गरेको थियो।

बहराइनको राजधानी मनामामा रहेका एएफपीका संवाददाताका अनुसार साइरन बजेसँगै विस्फोटका आवाज सुनिएका थिए।

बहराइनस्थित अमेरिकी दूतावासले इरानले मध्यमनामाका केही स्थानलाई लक्षित गर्न सक्ने सम्भावित जोखिमबारे सूचना प्राप्त भएको जनाएको छ। दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकलाई सतर्क रहन, स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा दूतावासबाट जारी सुरक्षा सूचनामाथि ध्यान दिन आग्रह गरेको छ।

यसै महिना अमेरिका र इरानबीच युद्धविराम तथा समझदारीपत्रमा हस्ताक्षर भए पनि त्यसपछि पुनःद्वन्द्व चर्किएको छ। अमेरिकी सैन्य उपस्थितिका कारण कुवेत र बहराइन इरानी आक्रमणको मुख्य निशानामा परिरहेका छन्।

बहराइनले इरानमाथि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ। कुवेतले पनि पानी तथा विद्युत् उत्पादन केन्द्र र तेलसम्बन्धी पूर्वाधारमा इरानी आक्रमण भएको जनाएको छ।

प्रकाशित: ४ साउन २०८३ १६:५८ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast