काठमाडौँ- नेपाली सेनाको रणशेर गणले शीघ्र प्रभावी आयोजनाअन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका-५ स्थित ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको मुलकोट गढीमा राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकसहितको स्मारक निर्माण सम्पन्न गरी स्थानीय निकायलाई हस्तान्तरण गरेको छ।
नेपाली सेनाका अनुसार उक्त आयोजनाअन्तर्गत निर्माण गरिएको स्मारकले मुलकोट गढीको ऐतिहासिक पहिचान संरक्षण, पर्यटन प्रवर्द्धन तथा भावी पुस्तालाई नेपालको एकीकरण अभियानसँग परिचित गराउन महत्वपूर्ण योगदान पुर्याउने छ।
स्मारक हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा यस्ता आयोजनाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
नेपाली सेनाले विभिन्न स्थानमा सञ्चालन गर्दै आएका शीघ्र प्रभावी आयोजनामार्फत ऐतिहासिक, सांस्कृतिक तथा सामुदायिक पूर्वाधारको संरक्षण र विकासमा सहयोग पुर्याउँदै आएको जनाएको छ।

