राजविराज- कारागार कार्यालय सप्तरीमा शनिबार बिहान केही कैदीबन्दीलाई स्थानान्तरण गर्ने विषयमा विवाद उत्पन्न भएको छ। विवादका कारण केही समय कारागारभित्र तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।
कारागारको ब्लक ‘बी’ मा रहेका पाँच–छ जना कैदीबन्दीलाई अर्को ब्लक वा अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेका बेला केही कैदीबन्दीले विरोध गर्दै होहल्ला गरेका थिए। उनीहरूले शरीरमा मट्टितेल छर्केर आगो लगाउने धम्कीसमेत दिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनापछि कारागार प्रमुख रुपक मण्डलले थप सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गर्न आग्रह गरेका थिए। त्यसलगत्तै प्रहरी टोली कारागारमा परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको उनले बताए।
‘घटनापछि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको थियो। अहिले कारागारको अवस्था पूर्ण रूपमा सामान्य छ,’ प्रहरी नायब उपरीक्षक घिमिरेले भने।
यता, कारागारभित्र रहेका कैदीबन्दीका अनुसार ब्लक नायक परिवर्तन गर्नुपर्ने माग उठेपछि विवाद चर्किएको हो । उक्त दाबीबारे भने सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन।
घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक समन्वय र निगरानी भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए।

