देशभरका यी ६ राजमार्ग अवरूद्ध

हिमाल प्रेस १ साउन २०८३ १९:३७ | Friday, July 17, 2026
18
SHARES
देशभरका यी ६ राजमार्ग अवरूद्ध फाइल तस्बिर

काठमाडौँ- निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६ वटा राजमार्ग अवरूद्ध भएका छन्।

नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्यांकअनुसार बाढीपहिरो, डुबानलगायत कारणले ६ वटा राजमार्ग अवरूद्ध भएका हुन्।

बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।

बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै गत जेठ २२ गतेदेखि बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो। उक्त सडकमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मात्र सवारीसाधन सञ्चालन हुने गर्दछन्।

वर्षातका कारण हुनसक्ने बाढीपहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरस्थित कान्ति लोकपथअन्तर्गत सञ्चालन हुने सवारीसाधन रातिको समयमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए।

‘वर्षाका कारण गत असार २३ देखि इलामको इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्गमा बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ,’ उनले भने।

केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले ढुंगासहितको पहरोका कारण अर्घाखाँची जिल्लाको सालझन्डी–ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए।

गत असार २८ देखि अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, ढुङ्गेखोलास्थित सालझन्डी–ढोरपाटन सडकमाथिबाट ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको उनको भनाइ छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। गत असार ३१ गते भोटेकोशी गाउँपालिका–४, जिरोकिलाअन्तर्गत अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै, आज सिन्धुपाल्चोक भोटेकोशी गाउँपािलका–२ कोदारीस्थित अरनिको राजमार्गअन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ। उक्त खण्डमा सडकमाथिबाट ढुंगा माटोसहित लेदो खसेर आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बागलुङ, जैमिनी नगरपालिका–८, बेलबगर कालीगण्डकी करिडोर सडकमाथिबाट ढुंगा र माटोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित: १ साउन २०८३ १९:३७ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast