काठमाडौँ- शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन्।
परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौँको पुतलिसडकमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा सेवा हो, अपराध होइन, शैक्षिक परामर्श नियमावली २०८३ का त्रुटीहरु तत्काल सुधारियोस्, नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हवको रुपमा विकास गराँ’ैै लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श क्षेत्र नै धरासयी हुने अवस्था आएकाले विरोधमा उत्रनुपरेको नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले बताए।
नियमावलीमा अनुमतिपत्रको नवीकरण वर्षैपिच्छे गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने, शैक्षिक मेला वा सेमिनार गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र कार्यालय परिसरभित्र गरिने कार्यक्रमका लागि समेत अनुमति लिनुपर्ने लगायतका व्यवस्था खारेज गर्नुपर्ने उनीहरुले जनाएका छन्।

