ललितपुर- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो।
संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नदेखिएकाले चिडियाखाना पुनःसञ्चालनमा ल्याइएको हो।
चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनःखोल्ने निर्णय गरेको हो।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने अवलोकनकर्ताले बेलुका ५:०० बजेभित्र बाहिरिनु पर्नेछ।

