रौतहटका बस्ती बाढीको जोखिममा

हिमाल प्रेस १ साउन २०८३ ६:०३ | Friday, July 17, 2026
4
SHARES
रौतहटका बस्ती बाढीको जोखिममा काठमाडौँको बागमती नदीमा शनिबार आएको बाढी।

रौतहट- रौतहट भएर बग्ने बागमती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन्।

दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढीले बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्ती डुबानमा पर्दै आएका छन् भने करोडौँ मूल्य बराबरको धनजन तथा बालीनाली क्षति हुँदै आएको छ।

केही दिनअघिको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका-४ मा बाढी पसेपछि जनजीवन प्रभावित भएको थियो।

बकैया नदीको बाँध फुट्दा रौतहटका आधा दर्जनभन्दा बढी नगरपालिका प्रभावित हुने कटहरियाका स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिए।

बाँध फुट्दा रौतहटका कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर तथा गौर नगरपालिकाका नागरिक प्रभावित हुने श्रेष्ठले बताए।

‘जबसम्म नदीको बाँध बलियो बन्दैन, तबसम्म बर्सेनि बाढीले यस भेगका नागरिकको धनजनमा क्षति पुर्याइरहन्छ’, श्रेष्ठले भने।

बागमती नदीको बाँध कमजोर हुँदा आधा दर्जन पालिकाका नागरिक प्रभावित हुँदै आएका छन्। रौतहटका दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका बाँध छेउका बस्ती डुबानमा पर्ने गरेको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए।

गत वर्ष पनि वाग्मती नदीमा आएको बाढीले करोडौँ मूल्यबराबरको धानबाली नष्ट गरेको अध्यक्ष सिंहको भनाइ छ। बागमती नदीको बाँध बलियो नहुँदा धेरै नागरिकले सास्ती खेप्नुपरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसहितको सुरक्षा अधिकारीको टोलीले बिहीबार बागमती र लालबकैया नदीमा जलस्तर बढ्न थालेपछि सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै नदी नियन्त्रण बाँध तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ।

अनुगमनका क्रममा राजदेवी नगरपालिका-३ स्थित बागमती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको प्रजिअ भुसालले जानकारी दिए।

प्रजिअ भुसाल नेतृत्वको टोलीले परोहा नगरपालिका-३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना) को समेत निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा निर्माणको प्रगति, बाँधको अवस्था तथा सम्भावित जोखिमबारे सम्बन्धित प्राविधिक तथा सरोकारवालासँग जानकारी लिइएको थियो।

प्रकाशित: १ साउन २०८३ ६:०३ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast