कोशीमा बढ्यो बहाब, खोलियो २१ ढोका

हिमाल प्रेस ३२ असार २०८३ ६:०५ | Thursday, July 16, 2026
12
SHARES
कोशीमा बढ्यो बहाब, खोलियो २१ ढोका कोशी ब्यारेजको पुल तस्बिर : रासस

काठमाडौँ– सप्तकोशीमा पानीको बहाब बढेपछि बुधबार राति २१ ढोका खोलिएका छन्।

बुधबार राति अबेर कोशी ब्यारेजमा पानीको बहाब एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाब थप बढ्न सक्ने अनुमान छ।

प्रहरीका अनुसार कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएका छन्।

ब्यारेजका ५२ वटा मूल ढोका र चारवटा नहर गरी ५६ वटा ढोका छन्।

पानीको बहाब एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप कोशी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झन्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ।

असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ।

सप्तकोशीमा पनि बहाब बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ।

प्रकाशित: ३२ असार २०८३ ६:०५ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast