काठमाडौँ- रौतहटमा आत्मदाहको प्रयास गरेका गौतमकुमार सहनीलाई काठमाडौँ ल्याइएको छ। शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनको अहिले वीर अस्पतालमा उपचारमा जारी छ। उनको जलन विशेषज्ञ डा।अपार लामिछानेको नेतृत्वमा आईसीयूमा उपचार भइरहेको वीर अस्पतालका प्रवक्ता डा.प्रकाश बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।
घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा पुर्याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१।५ प्रतिशत भाग जलेको छ। घटनाको जानकारी अस्पतालबाट बिहान करिब ४ बजे प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट असई मनोज दासको नेतृत्वमा टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो । बिहान सवा चार बजे उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सहनी गरुडा बजारस्थित झाझ पुलनजिक एउटा सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । सोही व्यवसायबाट उनले आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गर्दै आएका थिए।



