इन्जिनियर कृष्ण महर्जन
काठमाडौँ- याक चौँरी कृषक महासंघ नेपालले याक तथा चौँरी पालनलाई हिमालय संरक्षण, जैविक विविधता, खाद्य प्रणाली र जलवायु सहनशीलताको महत्वपूर्ण आधारका रूपमा अघि सारेको छ।
काठमाडौँमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय जलवायु शिविरको उद्घाटन समारोहमा महासंघका सचिवालय सदस्य इन्जिनियर कृष्ण महर्जनले याक तथा चौँरी पालन परम्परागत जीविकोपार्जनको माध्यम मात्र नभई हिमाली संस्कृति, स्थानीय अर्थतन्त्र र वातावरणीय सन्तुलनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।
उनले हिमाली क्षेत्रमा बसोबास गर्ने याक तथा चौँरी पालक समुदाय जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका अग्रपंक्तिका समुदाय रहेको उल्लेख गरे।
बदलिँदो हिमपातको ढाँचा, चरन क्षेत्रको ह्रास, पानीको अभाव, पशु स्वास्थ्यमा बढ्दो जोखिम तथा जीविकोपार्जनमा असुरक्षा जस्ता समस्याले हिमाली समुदायलाई गम्भीर रूपमा प्रभावित पारिरहेको उनको भनाइ थियो।
उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री, संघीय संसद्का सदस्यहरू, जलवायु विज्ञ, युवा प्रतिनिधि, अनुसन्धानकर्ता तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महासंघले याक तथा चौँरी पालनको संरक्षण गर्नु भनेको हिमालयको संरक्षण गर्नु, आदिवासी तथा स्थानीय ज्ञानको सम्मान गर्नु, हिमाली अर्थतन्त्रलाई सुदृढ बनाउनु र जलवायु न्यायलाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ।
महासंघले दोस्रो अन्तर्राष्ट्रिय जलवायु शिविर २०२६ का आयोजकहरूले हिमाली समुदायका आवाजलाई जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय बहसमा स्थान दिएकोमा आभार व्यक्त गर्दै ‘याकलाई अपनाऔँ, हिमालय बचाऔँ’ भन्ने सन्देशलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।



