काठमाडौँको बागमती नदीमा शनिबार आएको बाढी।
काठमाडौँ- मनसुन सक्रिय हुँदा देशका धेरै स्थानमा निरन्तर पानी परिरहेको छ । वर्षासँगै नदी तथा खोलानाला पानीको बहाव बढेको छ । सोमबार (असार २९) पनि देशका केही जिल्ला भई बहने नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही साना नदीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी/बर्दघाट सुस्ता पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काईलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेको छ,” महाशाखाले भनेको छ ।



