संसद्‌मा शिक्षा समिति सभापति ओजस्वीले के भनिन्?

हिमाल प्रेस २८ असार २०८३ १३:५८ | Sunday, July 12, 2026
492
SHARES
संसद्‌मा शिक्षा समिति सभापति ओजस्वीले के भनिन्?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा.ओजस्वी शेरचनले राष्ट्रिय सेवा दल विधेयक, २०८३ समयानुकूल र आवश्यक प्रयास भएको बताएकी छन्।

प्रतिनिधिसभामा शुक्रबार राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले कुनै पनि राष्ट्रको भविष्य प्राकृतिक स्रोतले मात्र नभई त्यस राष्ट्रले कस्ता नागरिक उत्पादन गर्छ भन्ने कुराले निर्धारण गर्ने बताइन्।

उनले भनिन्,‘कुनै पनि राष्ट्रको भविष्य त्यसको प्राकृतिक स्रोतले मात्र निर्धारण गर्दैन। त्यो राष्ट्रले कस्तो नागरिक निर्माण गर्छ भन्ने कुराले निर्धारण गर्छ। आज हामी त्यही भविष्य निर्माण गर्ने महत्वपूर्ण विधेयकमाथि छलफल गरिरहेका छौं।’

अहिलेका बालबालिका र युवा डिजिटल संसारमा बढी समय बिताइरहेको बताउँदै डा. शेरचनले त्यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको विभिन्न वैज्ञानिक अध्ययनले देखाएको बताइन्।

अत्यधिक स्क्रिन प्रयोगले ध्यान, आत्मनियन्त्रण, निर्णय क्षमता तथा सामाजिक व्यवहारमा असर पार्ने भए पनि नियमित शारीरिक गतिविधिले मानसिक स्वास्थ्य, आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

विश्व स्वास्थ्य संगठनले ५ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई दैनिक कम्तीमा ६० मिनेट शारीरिक गतिविधि गर्न सिफारिस गरेको उल्लेख गर्दै उनले राष्ट्रिय सेवा दल विधेयकले अनुशासन, नेतृत्व विकास, सेवाभाव, विपद् व्यवस्थापन, टोलीमा काम गर्ने क्षमता तथा राष्ट्रप्रतिको उत्तरदायित्व विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

विधेयकलाई अझ प्रभावकारी बनाउन केही विषय स्पष्ट हुनुपर्ने उनको धारणा थियो। ‘राष्ट्रिय आवश्यकता’ भन्ने शब्दलाई स्पष्ट परिभाषित गर्न आवश्यक छ। नेपालमा बाढी, पहिरो, भूकम्प तथा महामारीजस्ता जोखिमहरूलाई कानुनमै रूपमा समेटिनुपर्छ,’ उनले भनिन्।

उनले कार्यक्रम सञ्चालनमा रक्षा मन्त्रालय र नेपाली सेनाको भूमिकासँगै शिक्षा मन्त्रालय, युवा क्षेत्र, मनोविज्ञान, बालअधिकार तथा शिक्षा क्षेत्रका विज्ञहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन्।

कार्यक्रमका लागि आवश्यक स्रोतसाधन र सहभागीहरूको व्यक्तिगत विवरणको गोपनीयता सम्बन्धी व्यवस्था पनि कानुनमै प्रष्ट हुनुपर्नेमा जोड दिइन्।

‘राष्ट्र निर्माण भनेको सडक, पुल र भवन निर्माण मात्र होइन सक्षम, अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक निर्माण पनि हो। आज हामीले बनाउने कानुनले भोलिको पुस्ताको चरित्र निर्माण गर्नेछ। त्यसैले यो विधेयकलाई अझ स्पष्ट, समावेशी र उत्तरदायी बनाएर पारित गर्नुपर्छ,’ उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast