असार नसकिँदै महोत्तरीमा सकियो आँप

हिमाल प्रेस २४ असार २०८३ १६:१८ | Wednesday, July 8, 2026
8
SHARES
असार नसकिँदै महोत्तरीमा सकियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो। तर,असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्।

महोत्तरीमा यो मौसम फल पाक्ने सिजन हो। जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिँदै रित्तिएका छन्।

आँपलाई फलको राजा मानिन्छ। जेठ मध्यदेखि १५ असारसम्म बम्बई, असार १५ देखि मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्नासाथ कलकितया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलावखाससहितका आँपको मौसम सुरु हुन्छ। तर यसपालि पाक्ने मध्य बेलामै आँपक बोट खाली भइसकेको भङ्गाहा-४ रामनगरका किसान हरिदेव साह बताउँछन्।

‘हेर्नुहोस् न! बगैँचामा पछि पाक्ने आँप पनि थिए, तर असार-१५ ताका नै बगैचा रित्तोभयो’, साह भन्छन्,‘बगैँचा ठेकेदारलाई बेचियो, सबै आँप टिपेर लगे।’

साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दियासहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकिएका छन्।

यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अचाक्ली गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सड्दै झर्ने क्रम बढेपछि समयअघि नै बेच्नुपरेको अर्का किसान गंगाराम महतोले बताए। भदौमा पाक्ने अभिया र भदैयाँसहितका आँपका बोट पनि असार नसकिँदै रित्तिएका छन्।

पछि पाक्ने आँप पहिले नै बिक्री गर्दा त्यसलाई पकाउन कार्बाइडको प्रयोग गर्नुपर्छ। कार्बाइड प्रयोग भएको आँप एक त स्वादिलो हुँदैन भने अर्का स्वास्थ्यका लागि हानिकारक हुन्छ भने चाँडै ब्रिकी गर्दा किसानले उचित मूल्य नपाएका गुनासो सुनिन्छ।

बोटमै पाकेको आँप स्वादिष्ट र स्वस्थ्यकर हुन्छ। तर, किसानको धानखेतीको समय सुरु भएकाले चाँडै अन्य काम सक्नका लागि आँप पाक्ने समय नहुँदै आँप बेचेर रोपाइँमा किसान लागेका बर्दिबास-१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउँछन्।

महोत्तरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आँपको बगैँचा फैलिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ। यहाँका आँप किसान नजिकै आँप प्रशोधन उद्योग र चिस्यानघर नहुँदा हतारमै आँप बिक्री गर्न बाध्य छन्।

ग्रामीण किसानका यो समस्या यहाँको स्थानीय सरकारले नसुनेको गौशाला-१० बटुवाका ७० वर्षीय किसान लक्ष्मीप्रसाद सिंह बताउँछन्।

प्रकाशित: २४ असार २०८३ १६:१८ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast