तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

हिमाल प्रेस २३ असार २०८३ १०:०८ | Tuesday, July 7, 2026
6
SHARES
तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

काठमाडौँ- नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो।

भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले यही असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो।

समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ । असार २८ गते भानुभक्तीय रामायण वाचनरपाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ ।

असार २९ गते बिहान भानुभक्तको शालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी निकाल्ने कार्यक्रम तय भएको लौडारीले जानकारी दिए । त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलगायतले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।

आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पुर्‍याएका कारण उनी नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा चिनिन्छन् । उनका कृतिले नेपाली भाषाको विकासमा पुर्‍याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुन् ।

मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तक प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

प्रकाशित: २३ असार २०८३ १०:०८ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast