‘भिआर’ ले बचायो फ्रान्सलाई, पाराग्वेको कठोर खेलशैलीको विश्वभर आलोचना

हिमाल प्रेस २१ असार २०८३ ११:२१ | Sunday, July 5, 2026
24
SHARES
‘भिआर’ ले बचायो फ्रान्सलाई, पाराग्वेको कठोर खेलशैलीको विश्वभर आलोचना

काठमाडौँ- विश्वकपमा अहिलेसम्म सबै प्रतिद्वन्द्वीलाई सहज रूपमा पराजित गर्दै आएको फ्रान्सले उपाधि रक्षा गर्ने आफ्नो सपना जोगाइराख्न यसपटक भने निकै कठिन संघर्ष गर्नुपर्‍यो। पाराग्वेमाथि १-० को जित निकाल्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

अन्तिम ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएर ठूलो उलटफेर गरेको पाराग्वेले तटस्थ समर्थकहरूको मन जितेको थियो। तर फिलाडेल्फियाको चर्को गर्मीमा भएको तनावपूर्ण खेलमा उनीहरूले आफ्नो अर्कै रूप देखाए।

आन्द्रेस कुबासले एड्रियन राबियोलाई कडा ट्याकल गर्दा पनि कार्ड पाएनन्। जुआन होसे कासेरेसले किलियन एम्बाप्पेलाई लात हाने पनि त्यसमा कुनै कारबाही भएन।

अचम्मको कुरा के भने फ्रान्सका मानु कोने, ब्राड्ली बारकोला र माइकल ओलिसेलाई पहेंलो कार्ड दिइयो तर पाराग्वेका एक जना खेलाडीले समेत कार्ड पाएनन्। खेलको अन्त्यतिर गाब्रियल आवालोसले दायोट उपामेकानोको पेटमा कुहिनो प्रहार गर्दा पनि रेफ्री मौन रहे।

पूर्व इंग्ल्यान्ड डिफेन्डर मिका रिचर्ड्सले भने, ‘यो दृश्य निकै शर्मनाक थियो। पाराग्वे रक्षात्मक रूपमा उत्कृष्ट थियो। उनीहरूलाई यस्ता हरकत गर्न आवश्यक नै थिएन।’

अब फ्रान्सले क्वार्टरफाइनलमा बोस्टन स्टेडियममा मोरक्कोसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।

पेनाल्टीबाट निर्णय

खेलको निर्णायक क्षण दोस्रो हाफमा आयो। डिएगो गोमेजले डिजिरे डुवेलाई लडाएपछि रेफ्री इलगिज तान्ताशेभले भिडियो सहायक रेफ्री (भीआर) को सल्लाहमा मैदानछेउको मोनिटरमा घटना हेरेर पेनाल्टी दिएका थिए।

पेनाल्टी दिनुअघि पनि पाराग्वेका खेलाडीहरूले उज्बेकिस्तानी रेफ्रीलाई घेरेर निर्णय ढिल्याउने प्रयास गरे। गुस्ताभो भेलास्क्वेजले त पेनाल्टी स्पट नै बिगार्ने प्रयास गरे। तर एम्बाप्पेले प्रतियोगितामा आफ्नो सातौं गोल गर्दै गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीसँग बराबरी गरे।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसचाम्प्सले भने, ‘प्रतिद्वन्द्वीको बेन्चबाट केही अनावश्यक अपमानजनक टिप्पणी पनि सुनियो।’  खेल सकिएपछि समेत भेलास्क्वेजले फ्रान्सका खेलाडीहरूसँग झगडा गर्न खोजेपछि सामान्य धकेलाधकेल भएको थियो।

पूर्व स्कटल्यान्ड विङ्गर प्याट नेभिनले भने,‘पाराग्वेले फ्रान्सका खेलाडीहरूको ध्यान भंग गर्न सबै प्रकारका चाल प्रयोग गर्‍यो। साना धक्का, उक्साहट, पहेंलो कार्ड नपाउने गरी गरिने सबै प्रकारका ‘डार्क आर्ट्स’ प्रयोग गरियो।’

‘हामी टक्सेडो लगाएर आउने होइनौं’

एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्‍याएका छन्। उनले १९ खेलमा १९ गोल गरेका छन् र सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा मेस्सीभन्दा अब एक गोल मात्र पछाडि छन्।

सन् २०१८ यता विश्वकपको नकआउट चरणमा एम्बाप्पेले ११ गोल गरेका छन्। यो संख्या ब्राजिल (१०), इंग्ल्यान्ड (१०), पोर्चुगल (९) र स्पेन (४) भन्दा पनि बढी हो।

पहिलो हाफमा फ्रान्सले लक्ष्यमा एउटा पनि प्रहार गर्न सकेन। अत्यधिक गर्मीले खेललाई प्रभावित गरेको थियो। खेल सुरु हुँदा फिलाडेल्फियाको तापक्रम ३८.३ डिग्री सेल्सियस मापन गरिएको थियो जसले यसलाई विश्वकप इतिहासकै सबैभन्दा तातो खेलहरूमध्ये एक बनायो।

विश्वकप इतिहासको सबैभन्दा तातो खेल भने १९९४ मा अमेरिकाको फ्लोरिडामा भएको आयरल्यान्ड र मेक्सिकोबीचको खेल हो  जहाँ तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। तर फ्रान्सले गर्मी र पाराग्वेको कडा खेलशैली दुवैलाई पार गर्दै जित निकाल्यो।

एम्बाप्पेले खेलपछि भने, ‘हामी कुरूप फुटबल पनि खेल्न जान्दछौं। उनीहरूले हामी टक्सेडो लगाएर आउनेछौं भन्ने सोचेका रहेछन्। तर हामी पूर्ण रूपमा तयार थियौं। त्यो खेलमा पनि हामी उनीहरूभन्दा राम्रो थियौं। त्यो उनीहरूको फुटबल शैली हो। खेल्ने कुनै सही वा गलत तरिका हुँदैन। उनीहरूले त्यसरी जित्न खोजे, तर जित हाम्रो भयो।’

डेसचाम्प्सले खेलको अन्त्यतिर आफ्ना दुई अग्ला खेलाडीलाई एम्बाप्पेको वरिपरि उभिन निर्देशन दिएका थिए। उनले भने, ‘मलाई थाहा थियो, उनीहरूले अन्तिम समयमा एम्बाप्पेमाथि फेरि कडा प्रहार गर्नेछन्। यो सजिलो खेल थिएन। उनीहरूले सबै प्रकारका चाल प्रयोग गरे। यस्तो फुटबलले दर्शकलाई मैदानमा तान्दैन, तर उनीहरूले राम्रो रक्षा भने गरे। दक्षिण अमेरिकी टोलीविरुद्ध खेल्न सधैं कठिन हुन्छ।’

एम्बाप्पेको संयमको प्रशंसा

एम्बाप्पेमाथि सुरुदेखि नै लगातार फाउल गरियो। तर उनले कुनै आक्रोश नदेखाई मुस्कुराउँदै त्यसको सामना गरे। जो हार्टले भने, ‘एम्बाप्पेले आज जस्तो व्यवहार गरे, त्यसको म प्रशंसा गर्छु। पाराग्वेका खेलाडी पहिलो मिनेटदेखि नै उनीमाथि लागेका थिए। उनी हाँस्दै प्रतिक्रिया दिइरहेका थिए, त्यसमा उनलाई घमण्डी भन्न मिल्दैन। म यस्तो शैलीको फुटबल खेल्न कहिल्यै चाहन्नथें। रेफ्रीले पनि खेल नियन्त्रण गर्न सकेनन्। ९० मिनेटसम्म पाराग्वेका एक खेलाडीलाई पनि कार्ड नदिनु अचम्मको कुरा हो।’

जर्मनीका पूर्व मिडफिल्डर थोमस हिट्सल्स्पर्गरले भने, ‘पाराग्वेको खेलशैलीप्रति मेरो कुनै सम्मान छैन।’  उनले थपे,‘यदि तपाईं पाराग्वेका समर्थक हुनुहुन्छ भने उनीहरूलाई योद्धा भन्न सक्नुहुन्छ। तर यदि तपाईं फ्रान्सेली वा तटस्थ हुनुहुन्छ भने यस्तो प्रदर्शनपछि उनीहरूप्रति सम्मान राख्न गाह्रो हुन्छ। यो केवल लज्जास्पद मात्र होइन, त्योभन्दा पनि खराब हो।’

‘सुन्दर फुटबल पनि खेल्छौं, युद्ध पनि गर्न सक्छौं’

फ्रान्सका फरवार्ड रायान शेर्कीले यो खेलले आफ्नो टोली कुनै पनि परिस्थितिमा जित निकाल्न सक्षम रहेको प्रमाणित गरेको बताए। उनले भने, ‘हामीलाई थाहा थियो यो निकै प्रतिस्पर्धात्मक खेल हुनेछ। विश्वकपमा यस्तो खेल खेल्नु पनि हाम्रो लागि आवश्यक थियो, ताकि सबैलाई थाहा होस् फ्रान्स सुन्दर फुटबल मात्र होइन, आवश्यक परे मैदानमा लड्न पनि सक्छ।’

डिफेन्डर विलियम सालिबाले भने, ‘हामीले पाराग्वेका अघिल्ला खेलहरूको भिडियो अध्ययन गरेका थियौं। उनीहरूले कडा फाउल गर्ने, उक्साउने र हाम्रो लय बिगार्ने प्रयास गर्नेछन् भन्ने हामीलाई थाहा थियो। त्यसैले हामीले संयम गुमाएनौं। कहिलेकाहीँ ३–० भन्दा १–० को कठिन जित पनि उत्तिकै मूल्यवान् हुन्छ।’

रेफ्रीले धेरै फाउल छुटाए

सन् २०२६ को विश्वकपमा रेफ्रीहरूले खेललाई निरन्तर चलिरहने वातावरण बनाउने प्रयास गरेका छन्। तर यस खेलमा इलगिज तान्ताशेभ त्यसमा असफल देखिए।

पाराग्वेको कडा खेलशैलीबारे उनी सुरुबाटै सचेत हुनुपर्थ्यो। प्रारम्भिक चरणमै कडाइ अपनाएर खेल नियन्त्रणमा लिनुपर्ने थियो।

शनिबार क्यानडा र मोरक्कोबीचको खेलमा रेफ्री माइकल ओलिभरले पहिलो हाफमै ६ पहेंलो कार्ड दिएका थिए। त्यसपछि खेल शान्त बनेको थियो। तर फिलाडेल्फियामा त्यसको ठीक उल्टो भयो।

आधिकारिक तथ्यांकमा पाराग्वेले १३ र फ्रान्सले ११ फाउल गरेको देखिए पनि वास्तविक अवस्था त्यस्तो थिएन। दक्षिण अमेरिकी टोलीका धेरै ट्याक्टिकल तथा अफ-द-बल फाउलहरू रेफ्रीले बेवास्ता गरे।

अझ आश्चर्यको कुरा त के भने पाराग्वेका एक खेलाडीलाई पनि कार्ड दिइएन जबकि फ्रान्सका तीन खेलाडी पहेंलो कार्डको शिकार भए।

अन्ततः फ्रान्स रेफ्रीको निर्णयले होइन भिआरको हस्तक्षेपपछि दिइएको पेनाल्टीको सहायताले क्वार्टरफाइनलमा पुग्न सफल भयो।

प्रकाशित: २१ असार २०८३ ११:२१ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast