फक्सबरो, म्यासाचुसेट्स- पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले जर्मनीमाथि ऐतिहासिक जित हासिल गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको खुसीयालीमा मंगलबार (जुन ३०) राष्ट्रिय सार्वजनिक बिदा घोषणा गरेका छन्।
दक्षिण अमेरिकी टोली पाराग्वेले सोमबार अतिरिक्त समयसम्म १-१ को बराबरीपछि भएको पेनाल्टी सुटआउटमा चार पटकको विश्व च्याम्पियन जर्मनीलाई ४-३ ले पराजित गर्दै विश्वकप इतिहासकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक दर्ता गरेको हो।
राष्ट्रपति पेनाले सामाजिक सञ्जाल एक्समा बिदा घोषणा गरिरहेको आफ्नो तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,‘आज सम्पूर्ण देशले उत्सव मनाइरहेको छ। यो जितले हाम्रो पहिचानको गहिरो भावना, दृढता, विश्वास र कहिल्यै हार नमान्ने जनताको शक्तिको प्रतिनिधित्व गरेको छ।’
पेनाले सार्वजनिक गरेको सरकारी आदेशमा पाराग्वेको यो विजय खेलकुदको सीमाभन्दा धेरै माथिको उपलब्धि भएको उल्लेख गर्दै देशव्यापी उत्सव मनाउन सहज बनाउन सार्वजनिक बिदा घोषणा गरिएको जनाइएको छ।
आदेशमा भनिएको छ, ‘सरकार यस्तो ऐतिहासिक उपलब्धिप्रति उदासीन रहन सक्दैन। यो ऐतिहासिक दिनको उत्सवमा सबै पाराग्वेली नागरिक सहभागी हुन सकून् भन्ने उद्देश्यले आवश्यक व्यवस्था गरिएको हो।’
यसअघि पनि जर्मनीविरुद्ध विश्वकपमा अप्रत्याशित जित हासिल गरेपछि दक्षिण अमेरिकाकै अर्को देश इक्वेडरले सार्वजनिक बिदा घोषणा गरेको थियो।




