कम्युनिस्टहरूले आफ्ना गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्छ : माधव नेपाल

हिमाल प्रेस १४ असार २०८३ १७:२७ | Sunday, June 28, 2026
8
SHARES
कम्युनिस्टहरूले आफ्ना गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालका सबै कम्युनिस्ट शक्तिले आफ्ना कमजोरी र गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारण खोज्दै आत्ममन्थन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले जनताको बदलिँदो सोच र मनोविज्ञानलाई कम्युनिस्टहरूले सही रूपमा बुझ्न नसकेको स्वीकार गरे। उनले भने,‘हामीले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौं, या हामीमा के के विकृति आए? यसको आत्मसमीक्षा गरौं,’उनले भने,‘यो एउटा पार्टीको मात्रै कुरा होइन। नेपालका जति पनि कम्युनिस्ट घटक छन्,त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ। त्यो गर्न सक्यौं भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौं।’

नेता नेपालले मदन भण्डारीको भनाइ स्मरण गर्दै केवल छलफलले मात्रै परिणाम नआउने बताए। ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन। कुरो मात्रै गरेर हुनेवाला केही छैन,’उनले भने,‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ।’

उनले आत्मकेन्द्रित सोच त्याग्न नसकेसम्म कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने धारणा पनि राखे। ‘अब हामी कसरी अघि बढ्ने? समाजवादी क्रान्तिको यो चरणमा प्रवेश गरेपछि कसरी नेपाली समाजलाई अघि बढाएर लैजाने हो? त्यसका निम्ति कहाँबाट हामी चुक्यौं? कहाँ गल्ती गर्‍यौं? यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भएको छ? हामी सबैले आत्मसमीक्षा गरौं,’उनले भने,‘के हुन कारणहरू? विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादीताले? मै हुँ भन्ने प्रवृत्तिले, भ्रष्टाचार गर्ने प्रवृत्तिले?के के कारणले हो?’

मदन भण्डारीको नेतृत्व शैली स्मरण गर्दै उनले उनका विचार र कार्यशैलीबाट अहिले पनि सिक्नुपर्ने धेरै पक्ष रहेको बताए। ‘उहाँले परसम्मको दृष्टिकोण राखेर चल्नुहुन्थ्यो। समस्याको पहिचान गर्न खोज्नुहुन्थ्यो। वास्तविकताको धरातललाई जोड दिनुहुन्थयो। चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो। उहाँले पार्टीको अनुशासन कहिले पनि तोड्नुभएन। थुप्रै संस्मरणका शृंखला छन्,’नेपालले भने,‘कुनै पनि प्रतिस्पर्धामा श्रेष्ठ हुने कुरामा उहाँले जोड दिनुभएको छ। जबजका कतिपय पक्ष हामीले अहिले पनि ग्रहण गर्नुपर्ने हुन्छ।’

प्रकाशित: १४ असार २०८३ १७:२७ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast