निर्वाचन परिणामले आत्मसमीक्षाको अवसर दिएको छ, कम्युनिस्ट आन्दोलन सकिएको छैन : विद्या भण्डारी

हिमाल प्रेस १४ असार २०८३ १७:१४ | Sunday, June 28, 2026
14
SHARES
निर्वाचन परिणामले आत्मसमीक्षाको अवसर दिएको छ, कम्युनिस्ट आन्दोलन सकिएको छैन : विद्या भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको प्रतिनिधिसभा निर्वाचनको परिणामलाई आधार बनाएर नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्न नहुने बताएकी छन्। उनले निर्वाचन परिणामले कम्युनिस्ट शक्तिलाई गम्भीर वैचारिक समीक्षा र आत्ममन्थन गर्ने अवसर दिएको बताउँदै आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन्।

मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै भण्डारीले बदलिँदो राजनीतिक, सामाजिक र प्रविधिगत परिवेशअनुसार कम्युनिस्ट आन्दोलनले आफ्नो नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई परिमार्जन गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामू आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ। तर कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’

भण्डारीले निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीर वैचारिक बहस गर्न बाध्य बनाएको बताउँदै जनताले दिएको सन्देशलाई आत्मसात् गर्नु आजको आवश्यकता भएको भनिन्। ‍आन्दोलनको भविष्य आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन र जनतासँगको जीवन्त सम्बन्धमार्फत अझ सुदृढ बन्न सक्ने विश्वास व्यक्त गरिन्।

उनले थपिन्, ‘बदलिँदो पुस्ता, रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवा पुस्तामा नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई अक्षुण्ण राख्दै समय अनुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यकता अझ स्पष्ट रूपमा महसुस भएको छ।’

भण्डारीका अनुसार आन्दोलनलाई सान्दर्भिक र प्रभावकारी बनाउन आत्मसमीक्षा, नवप्रयोग तथा जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता छ।

नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै जननेता मदन भण्डारीले रचनात्मकताको अभावलाई आन्दोलनको मूल समस्या औँल्याएको स्मरण गर्दै उनले भनिन्,‘नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै मदन भण्डारीले भन्नुभएको थियो रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या हो। आज आन्दोलनले सामना गरिरहेका चुनौतीहरूलाई हेर्दा उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ।’

उनले बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकताअनुसार नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित रूपान्तरण हुन नसक्दा जनविश्वास कमजोर बनेको यथार्थलाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘जनताको विश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा होइन, समय अनुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित हुन्छ। अब विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त हुँदैन। वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिनसक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक छ।’

युवा पुस्ताको आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयसापेक्ष दृष्टिकोण विकास गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न सके कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र लोकप्रिय बनाउन सकिने उनको भनाइ थियो।

यसैबीच,भण्डारीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त नहुने आफ्नो धारणा पनि व्यक्त गरिन्। उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ।’

प्रकाशित: १४ असार २०८३ १७:१४ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast